अमेरिकामा हुने फिफा विश्वकप २०२६ को टिकट बिक्री खुल्दै, किन्ने प्रक्रिया यस्तो छ

अर्को वर्ष अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ का खेलहरू रंगशालामा गएर हेर्न दर्शकलाई फिफाले टिकट बेच्ने प्रक्रिया अघि बढाएको छ।
टिकट किन्नका लागि सर्वसाधारणले केही चरणको प्रक्रिया पार गर्नेछ। त्यसमा सुरूमा फिफा डटकममा गएर आफ्नो नाम दर्ता गर्नेदेखि चिट्ठाका लागि आवेदन दिनेसम्मका प्रक्रिया छन्। यस्तै फिफाले निश्चित रकम तोकेर विभिन्न प्याकेज समेत सार्वजनिक गरिसकेको छ।
पहिलो चरण : फिफा आइडी
विश्वकप २०२६ को टिकट खरिदका लागि पहिलो तथा महत्त्वपूर्ण चरण फिफाको आधिकारिक वेबसाइटमा आफ्नो नाम दर्ता गराउनु हो। त्यहाँ गएर फिफा आइडी बनाएपछि मात्र टिकट खरिद प्रक्रियामा सहभागी हुन पाइन्छ।
यसरी बनाउनु होस् फिफा आइडी :
• सुरूमा FIFA.com/tickets मा जाने।
• पेजको माथि दायाँ कुनामा रहेको मान्छेको आइकनमा क्लिक गरी SIGN UP मा थिच्ने।
• आफ्नो व्यक्तिगत विवरण भरेर पासवर्ड राख्ने।
• नियम र शर्तमा सहमत भएपछि तपाईँको इमेलमा भेरिफिकेसन लिंक आउनेछ, त्यसलाई क्लिक गरेर आफ्नो खाता सक्रिय गर्ने।
फिफा आइडी बनाउनका लागि कम्तीमा १३ वर्ष र टिकट किन्नका लागि १८ वर्षको उमेर पूरा भएको हुनु पर्छ। फिफा आइडी आजै बनाएमा फिफाले टिकट खुल्ला गरेको बेलामा तत्काल टिकट किन्न सजिलो हुनेछ।
दोस्रो चरण : भिसा प्रि-सेल ड्र
फिफा विश्वकप २०२६ को टिकट किन्नका लागि निवेदन दिने पहिलो अवसर हो- भिसा प्रि-सेल ड्र। यो चरणमा भिसा कार्ड प्रयोगकर्ताका लागि मात्र हुनेछ। फिफाको मुख्य प्रायोजक मध्येमा भिसा कार्ड पनि हो। त्यसैले फिफाले भिसा कार्डमार्फत यस पटक टिकट बिक्री गर्न लागेको छ।
• भिसा प्रि-सेल ड्रको आवेदन खुल्ने मिति : १० सेप्टेम्बर २०२५
• भिसा प्रि-सेल ड्रको आवेदन बन्द हुने मिति: १९ सेप्टेम्बर २०२५
यद्यपि यो सिधै टिकट किन्ने प्रक्रिया भने होइन। यो गोला प्रथा हो। तोकिएको मितिभित्र टिकटका लागि आवेदन दिएमा गोला प्रथामा नाम पनि सूचीकृत हुन्छ। आवेदन बन्द भएपछि फिफाले गोला प्रथाबाट भाग्यशाली आवेदकहरूको छनोट गर्नेछ।
यसको नतिजा ३० सेप्टेम्बर २०२५ पछि सफल आवेदकहरूलाई इमेलमार्फत जानकारी गराइनेछ। यदि छनोटमा पर्न सफल भएमा अक्टोबर महिनामा टिकट किन्नका लागि एक निश्चित मिति र समय दिइनेछ। सो समयमा अनलाइन गएर उपलब्ध टिकटहरू खरिद गर्न सकिन्छ। यो चरणमा भिसा क्रेडिट, भिसा डेबिट र रिचार्ज गर्न मिल्ने भिसा प्रिपेड कार्ड मात्र प्रयोग गर्न सकिनेछ। कार्डमा भिसा सेक्युर प्रणाली सक्रिय हुनुपर्छ।
तेस्रो चरण : टिकट खरिद
यदि भिसा प्रि-सेल ड्र मा छनोट नभएमा वा भिसा कार्ड नहुने पनि टिकट खरिद गर्न सक्नेछन्। फिफाले यसपछि पनि सबैका लागि अन्य चरणमा टिकट बिक्री खुला गर्नेछ। ती चरणको मिति र प्रक्रियाबारे फिफाले आफ्नो आधिकारिक वेबसाइटमा पछि जानकारी दिनेछ। भिसा कार्ड चरण सकिएपछि अरू चरण सक्रिय हुनेछन्।
रंगशालामा किन्न पाइनेछैन टिकट
विश्वकपका कुनै पनि खेलको टिकट रंगशालामा गएर किन्न पाइने छैन। सबै टिकट आधिकारिक वेबसाइट FIFA.com/tickets बाटै अनलाइन किन्नु पर्ने फिफाको नियम छ। यस्तै विभिन्न स्क्याम तथा ठगीबाट बच्नका लागि फिफाले आफ्नो वेबसाइटबाट मात्र टिकट किन्न आग्रह गरेको छ।
यदि बच्चा २ वर्षभन्दा कम उमेरको र ८६ सेन्टिमिटर (३४ इन्च) भन्दा कम उचाइको छ भने उसलाई काखमा राख्नका लागि छुट्टै टिकट चाहिँदैन। तर यदि बच्चाले यो मापदण्ड पूरा गर्दैन भने उसलाई अनिवार्य रूपमा छुट्टै टिकट आवश्यक पर्छ।
फिफाको प्याकेज
विशेष सुविधासहित खेल हेर्न चाहानेका लागि भने फिफाले प्रिमियम हस्पिटालिटी प्याकेज बिक्री सुरु गरिसकेको छ। यसमा उत्कृष्ट सिट, खाना, पेय पदार्थ जस्ता सुविधाहरू समावेश हुन्छन् भने फिफाले रकम पनि मोटै लिनेछ।
त्यो प्याकेज पनि फिफाकै आधिकारिक वेबसाइटमा गएर किन्न सकिन्छ। अहिले फिफाले तीन वटा प्याकेज ल्याएको छ।
एउटा म्याचको मात्र प्याकेजका लागि प्रतिव्यक्ति १३५० अमेरिकी डलरबाट सुरु हुनेछ। एकै रङ्गशालाका सबै खेल हेर्न चाहानेका लागि प्रतिव्यक्ति ८२७५ अमेरिकी डलरबाट प्याकेज सुरु हुन्छ। यस्तै आफ्नो टोलीको सबै खेल हेर्न चाहनेका लागि प्रतिव्यक्ति ६७५० डलरबाट प्याकेज सुरु हुन्छ।