टप एण्ड टी २० सिरिजमा नेपालको लगातार तेस्रो हार

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । सोमबार भएको खेलमा मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई ३१ रनले पराजित गरेको हो ।
मेलबर्न स्टार्स एकेडेमीको दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक बनाए पनि जितका लागि पर्याप्त भएन । उनले ४९ बल खेल्दै ३ चौका र १ छक्का मदतमा सर्वाधिक ५३ रन बनाए । कप्तान रोहित पौडेलले ३३ र कुशल भुर्तेलले २५ रन जोडे ।
नेपालका लागि ओपनर द्वय कुशल भुर्तेल र आसिफ शेखले ३० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । आक्रामक ब्याटिङ गरेका कुशल भुर्तेल १३ बलमा ४ चौका मदतमा २५ रन बनाएर चौथो ओभरमा आउट भए । लगत्तै भीम शार्की व्यक्तिगत १ रनमा आउट हुँदा नेपाल ४ ओभरमा ३२–२ को स्थितिमा थियो । त्यसपछि ओपनर आसिफ र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि ८७ रनको साझेदारी गर्दै नेपालको इनिङ्स अघि बढाएका थिए ।
नेपाल पहिलो खेलमा एनटी स्ट्राइक र दोस्रो खेलमा बङ्गलादेश ए सँग पराजित भएको थियो । नेपालले अब होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।