नेपाली कांग्रेसले कार्यकर्तालाई दियो डिजिटल प्लेटफर्मबारे प्रशिक्षण
काठमाडौं/ नेपाली कांग्रेसको सूचना तथा सञ्चार विभागले पार्टीका नेता तथा कार्यकर्ताहरूका लागि डिजिटल प्लेटफर्मसम्बन्धी अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।
पार्टी सभापति शेरबहादुर देउवाको सभाध्यक्षयतामा सुरु भएको कार्यक्रममा बदलिँदो परिस्थितिमा डिजिटल प्रविधिको सही र सतर्कतापूर्वक प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ।
कार्यक्रममा बोल्दै सूचना तथा सञ्चार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले डिजिटल प्लेटफर्मको प्रयोगसँगै बढ्दो गलत सूचना र भ्रामक प्रचारबाट कसरी जोगिने भन्ने विषयमा जानकारी दिएका थिए।
उनले पार्टीको छवि जोगाउन र व्यक्तिगत नेतृत्व विकासका लागि डिजिटल प्लेटफर्मलाई प्रभावकारी रूपमा कसरी प्रयोग गर्ने भन्नेबारे पनि प्रशिक्षण दिइएको बताए।
आगामी चुनावी प्रतिस्पर्धा पनि डिजिटल प्लेटफर्मबाटै निर्धारण हुने भएकाले यसलाई एउटा महत्त्वपूर्ण हतियार र शक्तिको रूपमा प्रयोग गर्नुपर्नेमा कार्यक्रममा जोड दिइएको छ। प्रशिक्षणमा सहभागीहरूलाई डिजिटल साक्षरता र यसको सुरक्षित प्रयोगका विभिन्न पक्षबारे जानकारी गराइएको थियो।
कार्यक्रममा देशभरिका २ सय बढीको सहभागिता रहेको थियो ।
कांग्रेस महामन्त्री गगनकुमार थापाले डिजिटल प्लेटफर्मको प्रयोग गर्दा त्यसबाट हुने दुष्परिणामहरूबाट जोगिन सचेत गराएका छन्। उनले विशेष गरी, गलत सूचना (misinformation) र दुष्प्रचार (disinformation) को बढ्दो क्रमबाट कसरी बच्ने भन्ने विषयमा ध्यानाकर्षण गराएका हुन्।
















