चुनावको दुई दिन अगाडि एनआरएनए अमेरिका निर्वाचन कमिटीको सामूहिक राजीनामा

Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ फुट र विवादको दलदलमा फसेको गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका नयाँ समस्यामा परेको छ।
चुनावको दुई दिन अगाडि उसका चुनाव आयोगका सबै सदस्यले सामूहिक राजीनामा दिएका छन्।
एनआरएनए अमेरिकाले अगस्त १६-१७ का लागि निर्वाचनको मिति तोकेको थियो। यद्यपि अर्को समूहले जुलाइमा नै निर्वाचन गरेको थियो। सो निर्वाचनबाट विकास उप्रेती अध्यक्षमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो।
‘हामी, एनआरएनए एनसीसी युएसए निर्वाचन आयोगका सदस्यहरू, अगस्ट १४, २०२५ देखि तुरुन्तै लागू हुने गरी हाम्रो सामूहिक राजीनामा पेश गर्दछौँ।’ निर्वाचन कमिटीका तर्फबाट एनआरएनए अमेरिकाका सदस्यहरूलाई पठाइएको इमेलमा भनिएको छ।
‘थप द्वन्द्वबाट बच्न र निर्वाचन प्रक्रियाको गरिमा जोगाउन, हामी विश्वास गर्छौँ कि यस मोडमा पछाडि हट्नु सबैभन्दा सम्मानजनक र जिम्मेवार कार्य हो।’ सदस्यहरूलाई प्रेसित इमेलमा भनिएको छ।
निर्वाचन कमिटीका एक सदस्यका अनुसार एनसीसीको बारम्बारको असहयोग, उम्मेदवारहरूको गाली बेइज्जती र धम्की पछि उनीहरू सामूहिक राजीनामाको पक्षमा पुगेका हुन्।
‘यो सामाजिक संस्था हो, हामी सेवा गर्न आएका हौ, तर यहाँ विषेश गरी महेश श्रेष्ठ अध्यक्ष रहेको एनआरएनए आइसीसीका पदाधिकारीहरूको इगोको सिकार हामीलाई बनाइयो, एनसीसी अमेरिकाले पनि हामीलाई आवश्यक सहयोग गरेन र उम्मेदवारहरू पनि उग्र देखिए, हामी किन बदनाम हुने भन्ने भयो र यो निर्णयमा पुग्यौ।’ समाज टाइम्सको सम्पर्कमा आएका ती सदस्यले भने।
एनआरएनए एनसीसी युएसए निर्वाचन आयोग प्रमुखमा कानुन व्यवसायी वासु फुलारा थिए । यस्तै सदस्यहरूमा
प्रियरञ्जन दाहाल, टुक रेग्मी,विनोद सुवेदी र खड्गा उप्रेती थिए।