अमेरिकासहित तीन देशमा हुने विश्वकप फुटबल २०२६ का लागि ६५ हजार स्वयंसेवक माग

Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले अमेरिका, क्यानडा र मेक्सिकोमा सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिताका लागि स्वयंसेवकका लागि आवेदन खुलाएको छ।
फिफाले विश्वकपका लागि सन् २०२६ मा ६५ हजार बढी स्वयंसेवकले विश्वकप हेर्न आउने संसारभरका अरबौँ फुटबल प्रेमीलाई मद्दत गर्ने विश्वास गरेको छ।
६५ हजार बढी स्वयंसेवक सहभागी हुन लागेको यो फिफाको सबैभन्दा ठूलो कार्यक्रम हो।
अर्को वर्ष हुने फिफा विश्वकपमा ४८ टोलीको सहभागिता हुनेछ। ४८ टोलीको यो प्रतियोगिताका खेलहरू तीन देशका १६ वटा शहरमा हुनेछन्।
अमेरिकाको एटलान्टा, बोस्टन, डालास, ह्युस्टन, कन्सास सिटी, लस एन्जलस, मायमी, न्यु जर्सी, फिलाडेल्फिया, सियाटल र सान फ्रान्सिस्को बे एरिया गरी ११ वटा शहरमा खेल हुनेछन्।
क्यानडाको टोरन्टो र भ्यान्कुवरमा खेल हुँदा मेक्सिकोको मेक्सिको सिटी, ग्वादलाखारा र मोन्टेर्रेमा विश्वकपमा खेल हुनेछन्।
यी १६ शहरमा ६ हप्तासम्म चल्ने प्रतियोगितामा फिफाको स्वयंसेवकले फुटबल प्रेमीलाई विभिन्न सहायता प्रदान गर्नेछन्। फिफाले सुरुमा स्वयंसेवक छनोट गरेर प्रशिक्षण दिनेछ। प्रशिक्षण प्राप्त स्वयंसेवकले रंगशाला, प्रशिक्षण स्थल, विमानस्थल, होटल जस्ता आधिकारिक र गैर-आधिकारिक स्थान गरी विभिन्न २३ क्षेत्रमा सहयोग प्रदान गर्ने फिफाको भनाइ छ।
फिफाले आगामी वर्ष क्यानडा, मेक्सिको र अमेरिकामा विश्वभरबाट लाखौँ दर्शक विश्वकप आउने अपेक्षा गरेको छ।
फिफाले सबै पृष्ठभूमि र क्षमताका स्वयंसेवक स्वागत गर्ने जनाएको छ। स्वयंसेवकको रुपमा विद्यार्थीदेखि सेवा निवृत्त व्यक्तिसम्म, पहिलो पटक सहभागी हुनेदेखि अनुभवीसम्म हुने फिफाको भनाइ छ।
स्वयंसेवक हुनका लागि कुनै पूर्व स्वयंसेवा अनुभव आवश्यक छैन, आवेदन दिने समयमा कम्तिमा १८ वर्षको हुनुपर्छ, आयोजक देशमा स्वयंसेवा गर्न योग्य हुनुपर्छ, अंग्रेजी भाषामा राम्रो ज्ञान हुनुपर्छ, मेक्सिकोमा, अंग्रेजी र स्पेनिस दुवै भाषालाई प्राथमिकता दिइनेछ, क्यानडामा, फ्रेन्च भाषालाई थप योग्यता मानिनेछ, कुनै पनि अतिरिक्त भाषाको ज्ञान सहयोगी हुनेछ।
इच्छुक व्यक्तिहरूले https://www.fifa.com/en/tournaments/mens/worldcup/canadamexicousa2026/volunteers मा क्लिक आवेदन दिन सक्नेछन्।
आवेदन सफल भएका स्वयंसेवकलाई ‘स्वयंसेवक टोली छनोट’ मा सहभागी हुन आमन्त्रित गरिनेछ। आवेदन २०२५ को सेप्टेम्बरसम्म दिनु पर्नेछ। छनोट भएका स्वयंसेवकलाई मार्च २०२६ मा प्रशिक्षण सुरु हुनेछ। फिफा विश्वकप ११ जुन २०२६ देखि सुरु हुनेछ।
छनोट भएका स्वयंसेवकलाई आधिकारिक विश्वकप स्वयंसेवक युनिफर्म र कार्ड, विशेष पुरस्कार र उपहारहरू, आफ्नो सिफ्टको समयमा खाना र पेय पदार्थ, स्वयंसेवक प्रमाणपत्र र विशेष प्रशिक्षण प्रदान गरिनेछ।
www.fifa.com