ट्रम्पले पुटिन र जेलेन्स्कीबीचको सम्भावित शिखर वार्ता हुने गरे संकेत

वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको सम्भावित शिखर वार्ताको राम्रै सम्भावना रहेको बताएका छन् ।
बुधवार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकोफ र रुसी राष्ट्रपति पुटिनबीच भएको छलफल धेरै राम्रो भएको जनाउँदै आफू दुवै नेतासँग वार्ता गर्न खुला रहेको बताएका हुन् ।
क्रेमलिनले पनि सो वार्तालाई रचनात्मक भन्दै दुवै पक्षबिच सङ्केतहरू आदानप्रदान भएको बताएको छ । तर विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।
यो भेटवार्ता ट्रम्पद्वारा रुसी आक्रमण रोक्न अन्तिम म्याद तोकेको केही दिनअघि भएको हो । ट्रम्पले आफ्ना युरोपेली साझेदारहरूसँग पनि छलफल भएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।
‘सबै सहमत छन् — यो युद्ध अन्त्य हुनुपर्छ, र हामी यसतर्फ काम गरिरहनेछौँ,’ उनले लेखेका छन् ।
यसैबिच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि ट्रम्पसँग विटकोफको भ्रमणबारे टेलिफोन वार्ता भएको पुष्टि गरेका छन् ।
जेलेन्स्कीले रूसले शान्तिका लागि गम्भीर पहल गर्ने हो भने उसले आर्थिक दबाबमा पर्नुपर्ने आवश्यकता औँल्याउँदै आएका छन् ।
यदि रुसले युद्ध अन्त्यतर्फ ठोस कदम नचालेमा ट्रम्प प्रशासनले कडा प्रतिबन्ध र रुससँग व्यापार गर्नेहरूलाई समेत दोस्रो चरणको प्रतिबन्धको चेतावनी दिएको छ ।