एनआरएनए अमेरिकाको साधारण सभा अगस्त २२-२३ भर्जिनियामा

ल्यानक्यास्टर, अमेरिका/ गैर-आवासीय नेपाली संघ (एनआरएनए) – राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको १४ औँ वार्षिक साधारण सभा अगस्त २२-२३ भर्जिनियाको मानासासमा हुने भएको छ।
एनआरएनए अमेरिकाले मंगलबार राति आफ्ना सदस्यहरूलाई औपचारिक इमेल मार्फत साधारण सभाको जानकारी गराएको हो।
साधारण सभामा एनसीसी अमेरिका र च्याप्टरका नवनिर्वाचित पदाधिकारीहरूलाई पद हस्तान्तरण तथा सपथ ग्रहण गराइने जनाइएको छ।
एनआरएनए अमेरिकाको एक समूहको चुनाव अगस्त १६-१७ तारिख हुँदै छ। अगस्तको चुनावमा अध्यक्षमा भानु खरेल, रामहरि अधिकारी, सतेन्द्र साह र राज (रामजी) आचार्य चुनावी मैदानमा छन्।
यस अगाडि अर्को समूहले जुलाईमा नै चुनाव गरी सकेको जनाएको छ। त्यो समूहले गराएको चुनावमा विकास उप्रेती निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो।
एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) मा बद्री केसी र महेश श्रेष्ठ गरी दुई समूहले आधिकारिकताको दाबी गर्दै आएका छन्।
रोचक कुरा नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले बद्री समूह र परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले महेश समूहलाई मान्यता दिएका छन्।
एनआरएनए आइसीसीको आधिकारिताको मुद्दा नेपालको सर्वोच्च अदालतकोमा पूर्ण इजलासमा विचाराधीन छ। एनआरएनए आइसीसीको आधिकारिता सम्बन्धी ६ वटा मुद्दालाई सर्वोच्चको पूर्ण इजलासमा पठाइएको भए पनि हरेक बिहीबार पेशी चढ्ने तर हेर्न नमिल्ने हुँदै आएको छ।
विकास उप्रेती समूहलाई बद्री केसी समूहले मान्यता दिएको छ।
शुक्रवार साँझ र शनिवार गरी हुने साधारण सभाको पहिलो दिन च्याप्टर नाइट हुने छ।
‘हामी तपाईँलाई अगस्ट २२, २०२५ मा भर्जिनिया च्याप्टरद्वारा अन्य राज्य च्याप्टरहरूसँगको सहकार्यमा आयोजना गरिने साँझको नेटवर्किङ रिसेप्सनमा सामेल हुन आमन्त्रित गर्दछौँ ।’ सदस्यलाई प्रेषित इमेलमा भनिएको छ।
च्याप्टर नाइटले सदस्यहरूका लागि एकसाथ जोडिने र उत्सव मनाउने एक आरामदायी अवसर हुने दाबी गरिएको छ।
साधारण सभाको संयोजकमा एनआरएनए अमेरिका प्रवक्ता डा. राजन पन्त र सह संयोजकमा दादी राम ढुङ्गाना रहेका छन्।