टिम रामहरिले गरे एनआरएनए अमेरिकाको लागि उम्मेदवारी घोषणा

अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्ष पदका लागि रामहरि अधिकारीले उम्मेदवारी घोषणा गरेका छन्।
आइतबार बेलुका भर्चुअल माध्यमबाट आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले आफू कुनै गुटको नभई संस्थालाई थप मजबुत, पारदर्शी र समावेशी बनाउनका लागि नेतृत्वमा आउन चाहेको बताए। उनले एनआरएनएलाई व्यक्ति केन्द्रित नभई समुदाय केन्द्रित बनाउने आफ्नो लक्ष्य रहेको पनि स्पष्ट पारे।
उनले आफ्नो अभियान तीन मुख्य लक्ष्यमा केन्द्रित हुने बताए । पहिलो, संस्थाको आन्तरिक सुधार र सबैलाई एकजुट गराउने। दोस्रो, अमेरिकामा रहेका नेपाली समुदायको हितका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्ने। र,तेस्रो, गैर आवासीय नेपाली नागरिकता, दोहोरो कर हटाउने, नेपालमा लगानी भित्र्याउने र नेपालसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने। “मेरो उम्मेदवारी कुनै गुट वा व्यक्तिको प्रतिनिधित्व होइन — यो संस्थाको सशक्तीकरण, पारदर्शी नेतृत्व र समावेशी भावना प्रवर्द्धन गर्ने अठोट हो,” उनले भने।
उनले न्यु योर्क शाखा(च्याप्टर) को महासचिव र दुई कार्यकाल अध्यक्ष भई काम गरिसकेका छन्।
घोषणा सभामा शुभकामना दिँदै जनसम्पर्क समिति विश्व सञ्जालका अध्यक्ष बिष्णु सुवेदीले रामहरि अधिकारी एक डाइनामिक र संस्थालाई हाँक्न सक्ने व्यक्तित्व भएको बताए । ” उहाँको टिमका उम्मेदवारहरू एकसे एक हुनुहुन्छ। उहाँले सबैलाई समेटेर लिएर जान सक्नु हुन्छ। हाम्रो पूर्ण सहयोग रहने छ,” उनले भने।
एनआरएनएको अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक डिलु पराजुलीले एनआरएनए अहिले एकदमै विषम स्थितिबाट गुज्री रहेको बताए । उनले संस्थालाई एकताबद्ध राख्न र विधान अनुरूप संस्था लाई अगाडी बढाउन् आवश्यक रहेको पनि जनाए। ” संस्थामा लोकतान्त्रिक प्रतिस्पर्धी हुनु स्वाभाविक हो। तर कसैप्रति नकारात्मक सोच नराखौँ, सधैँ सकारात्मक सोच राखौँ,” उनले भने।
टी पी खनाल (चैतन्यपथ) ले एनआरएनए हाम्रो भावना जोड्ने, हाम्रो माटोसँग जोड्ने, हाम्रो परिवार सँग जोड्ने एउटा महत्त्वपूर्ण संस्था भएको बताउँदै यसलाई बलियो बनाउन जरुरी भएको बताए। छ। “अहिले अभियान कमजोर भएको अवस्था छ। चुनावको नतिजालाई सहर्ष स्वीकार गर्नु होला। इगो नराख्नु होला,” उनले भने।
कार्यक्रममा नेपाली कांग्रेस अमेरिकाका नेता हरिबोल भण्डारी, एनआरएनए उपाध्यक्ष सुनील साह, आइसीसी सदस्य प्रमोद सिटौला, अनन्त सुवेदी, नेत्रबन्धु पोख्रेल, केदार तिम्सिना, जनक भण्डारी (नेपाली समाज टेक्सस), मणि नेपाली (एनआरएनए अमेरिका हेल्प डेस्कका पूर्व सदस्य सचिव ), भूमिश्वर सापकोटा, गौरिश्वर शर्मा (अध्यक्ष, बागलुङ सेवा समाज अमेरिका), गोविन्द गौतम, लक्ष्मण दर्लामी, दिपक थापा, नारायण खनाल (जसस क्यालिफोर्निया) लगायतले शुभ कामना दिएका थिए।
चन्द्र धितालले अध्यक्षता गरेको कार्यक्रमको कार्यक्रमको सञ्चालन मुक्तिनाथ पन्तले गरेका थिए।
कार्यक्रममा टिम रामहरिको तर्फबाट उम्मेदवारी घोषणा गरेका सन्तोष पहारी (वरिष्ठ उपाध्यक्ष), उपाध्यक्षका उम्मेदवारहरू डा गंगाधर आचार्य, विजय चौधरी, आङ छेरिंग शेर्पा, विशाल कार्की, गीता बजगाईँ (महिला उपाध्यक्ष) सुबोध रेग्मी (युवा उपाध्यक्ष), तेज विनोद पौडेल (महासचिव), सूर्य बस्ताकोटी (सचिव), लक्ष्मी थापा (महिला सचिव), दिपक भण्डारी (कोषाध्यक्ष) लगायतले आफ्नो समूह समावेशी र अनुभवी भएकाले मतदान गरेर विजयी बनाउन आग्रह गरेका थिए।