फाइभ जी नेटवर्क जति सक्दा छिटो सुचारु गर्न मन्त्री गुरुङको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जति सक्दो छिटो फाइभ जी नेटवर्क सुचारु गर्न नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका छन् ।
मन्त्रालयमा आज एनटिसी र एनटीएको २०८२÷८३ को वार्षिक बजेट तथा कार्यक्रमबारे राखिएको छलफलमा मन्त्री गुरुङले फोर जि विस्तार व्यापक बनाउँदै फाइभ जी नेटवर्कको थालनी तत्कालै गर्न निर्देशन दिएका हुन् ।
मन्त्री गुरुङका अनुसार आफूले मन्त्री भए लगत्तै पटक पटक फाइभ जी नेटवर्क सुरु गर्ने भन्दै आएपनि एक वर्ष पुगिसक्दा त्यसको कार्य सम्पादन नहुनु दुख लाग्दो विषय रहेको बताएका छन् ।
उनले अब भने चाँडो भन्दा चाँडो नेटवर्क विस्तारमा काम गर्नु पर्ने बताए । त्यस्तै, छलफलका क्रममा मन्त्री गुरुङले नेपाल टेलिकम सैद्धान्तिक रूपले मात्रै जिल्लाभर पुग्नु प्रयाप्त नरहेको स्पष्ट पारे ।
उनले फोर जि नेटवर्क हरेक जनताका घर घरमा पुर्याउने काम प्राथमिकतामा राख्नुपर्ने बताए । उनले इन्टरनेट र टेलिफोनमा समस्या आउँदा सरकारको डिजिटल फ्रेम वर्क उद्देश्य सार्थक हुन कठिन हुने, जनताले सेवाको भाव महशुस गर्नबाट वञ्चित रहने, डिजिटल सुशासन कायम गर्न चुनौती देखा पर्ने हुँदा दूरसञ्चार विस्तारमा ढिलासुस्ती नगर्न आग्रह गरे ।
यसै गरी उनले राजमार्गहरूमा देखा पर्ने नेटवर्क असुविधा कम गर्न पनि एनटीए र एनटिसीलाई ध्यानाकर्षण गराएका छन् । उनले पर्यटन प्रवर्द्धन गर्न इन्टरनेट र टेलिफोन सुविधा अत्यन्त जरुरी हुने भन्दै पर्यटकीय गन्तव्यहरूमा नेटवर्क विस्तार प्रभावकारी बनाउन आग्रह गरे ।
साथै, मन्त्री गुरुङले नेपाल टेलिकमको प्रचार प्रसार गतिविधि निकै कम भएको औँल्याउँदै शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा प्रचार गरेर एनटीसीबारे जनतालाई सुसूचित गराउन अनुरोध गरेका छन् ।
छलफलमा सञ्चार सचिव राधिका अर्यालले एनटीएले अनुगमनको पाटोलाई प्रभावकारी बनाउनु पर्ने बताइन् । उनले सूचना प्रविधिको क्षेत्रमा नवीन कार्य गर्दै आएका युवा पुस्तालाई हौसला प्रदान गर्ने खालका कार्य योजना समेत बनाउन निर्देशन दिएकी छन् ।
यस्तै, एनटीएका अध्यक्ष भूपेन्द्र भण्डारीले फाइभ जि नेटवर्क सुचारु गर्ने कार्य लगभग अन्तिम चरणमा पुगेको बताए । अब केही समयमै टेन्डर प्रक्रिया थालनी गरेर नेटवर्क विस्तार सुचारु गर्ने उनको भनाई छ ।