नेपालका सडक मार्ग हत्केलामा ज्यान छ, छैन पूर्व सूचना र सावधानी
मनिषा बस्नेत
काठमाडौं । वर्षा लागेसँगै देशका अधिकांश राजमार्गहरू यात्राका लागि जोखिमपूर्ण अवस्थामा छन् । पहिरोले अवरुद्ध हुने मात्र नभई ठुला ढुङ्गाहरू खस्ने वा सडक भासिने जोखिम पनि बढ्दो छ । तथापि, जोखिमका बाबजुद लामो वा छोटो दुरीका सार्वजनिक यातायातहरूले सेवा दिइरहेका छन् ।
बर्खामा यात्रा गर्दा ज्यान हत्केलामा राखेर हिँड्नु परिरहेको अनुभव सवारी चालकहरूले सुनाउने गरेका छन् । जोखिमपूर्ण र कठिन यात्रा गर्ने गरेको चालकहरू बताउँछन् ।
काठमाडौं–सिन्धुपाल्चोक चल्ने अरनिको सुपरएक्प्रेसका चालक अशोक सापकोटा सिन्धुपाल्चोकको टिमुरे रतनपुरसम्म यात्रु लिएर ओहोरदोहोर गर्दा ज्यान जोखिममा मात्र होइन पहिरो पन्साउन बेल्चा वा कोदालो पनि साथै बोकेर हिँड्ने गरेको बताउँछन् ।
सुनकोसी गाउँपालिका भित्रका सडक मार्गहरू सामान्य भए पनि पहिरोले दुःख दिइरहने गरेको उनी बताउँछन् । पहिरो जाँदा आफैँ कोदालोले पहिरो पन्छाउने गरेको सुनाउँछन् ।
उनले भने, ‘सुनकोसी गाउँपालिका ठाउँ राम्रो छ तर बाटो समस्यापूर्ण छ ।पालिकाले बाटो दशै लागेपछि मात्र सोर्ने काम गर्छ । अहिले पहिरो जाँदा पालिकाको डोजर आउँदैन अपरेटर छैन भन्छ । त्यही भएर हामी बसमा भएको साबेल वा कोदालो प्रयोग गर्छौ । यात्रुहरू आफै पनि ढुङ्गाहरू पन्छाउने गर्छन् ।’
सापकोटा काठमाडौँबाट बस उपत्यका बाहिर निस्कने बित्तिकै धुलिखेल जिरो किलो लगायतका ठाउँसँगै सिन्धुपाल्चोकका गाउँका सडकहरू जोखिमपूर्ण रहेको बताए।
‘हामी बसमा करिब पाँच घण्टा यात्रा गर्छौ । दोलालघाट, खाँडी चौर, बन्देऊ, जिरो किलो जस्ता ठाँउहरु जोखिमपूर्ण छन् । उता बाह्रविसे पछि जुरेको पहिरोको समस्या छ । तातोपानी नाका कारण त्यस क्षेत्रको सडकमा पहिरो जाँदा भने एक दुई घण्टामा खुल्छ,’ उनले भने ।
यस्तै, भैरहवा–काठमाडौँसम्म बस हाँकिरहेका समुन्द्र शेरचन पानी पर्ने बित्तिकै नारायणगढ–बुटवलसम्मको सडम र दाउन्ने, डुम्कीबाँसदेखी बर्दघाटसम्मको यात्रा गर्न कठिन हुने बताउँछन् ।
उनले भने, ‘हिजोआजको यात्रा निकै कठिन पूर्ण छ । यात्रुदेखि गाडीवालाहरू जोखिमको यात्रा गर्न बाध्य छन् । नेपालका सडकमार्गहरु मृत्यु मार्ग जस्ता छन् । हामी सधैँ यात्रा गर्ने मुग्लिङ–काठमाडौं सामान्य रहेपनि नारायणगढ–बुटवलसम्मको बाटो र दाउन्ने–डुम्कीबाँसदेखि बर्दघाटसम्मको सडकमा यात्रा गर्न कठिन छ । पानी पर्ने बित्तिकै जाम हुन्छ । जसले यात्रु र चालक दुबैलाई असुविधा हुन्छ ।’
काठमाडौं–बाह्रबिसेसम्म बस चलाउने राजेन्द्र श्रेष्ठ पानी पर्दा सडक ब्लक हुने समस्याले सडकका भित्ता हेर्दै जानुपर्ने बताउँछन् ।
‘पाँचखाल जिरो किलो पार गरेर दोलालघाटबाट उता पानी पर्दा माथिबाट ढुङगा झरिरहने, पहिरो गइरहने भएकाले जुनसुकै बेला बाटो बन्द हुने र पहिरोले पुर्ने जोखिम रहेकाले पानी पर्दा कुना वा भित्ताहरू हेर्दै जानुपर्छ,’ उनले भने ।
बर्षयाममा यात्रा गर्दा चालकहरू एक अर्कालाई सूचना आदानप्रदान गर्ने कम गतिमा सवारी हाँक्ने गरेको चालक श्रेष्ठ बताउँछन् ।
उनले भने,‘ वर्षामा यात्रु र बसलाई विशेष सुरक्षा दिनुपर्ने भएकाले लिमिट गतिमा बस हाँक्नुपर्ने बाध्यता छ । पूर्व सूचनाको कुरा गर्दा ट्राफिक प्रहरीहरूलाई नै हामीले सूचना दिने गरेका छौँ । जोखिमको पूर्व सूचना लिने सरकारी संयन्त्र नै कमजोर छ । हामी नै प्रहरीलाई सूचना दिएर अरू चालकहरूलाई खबर गरिदिनुहोस् भनिदिन्छौ । अगाडि र पछाडिको बसहरूसँग समन्वय पनि हुन्छ । नम्बर हुने चालक साथीहरूलाई फोनमार्फत जानकारी पनि दिने गर्छौ ।’
चालक अशोक सापकोटा भने आफूसँगै यात्रुलाई सुरक्षित स्थानमा पुराउनुपर्ने आफ्नो जिम्मेवारी भएको भन्दै पहिरो झरिरहेको समयमा रोकिएर सुरक्षित ठाउँमा साइड लागेर बस्ने गरेको बताए ।
उनले भने, ‘पहिरो झरिरहेको छ भने हामी जबरजस्ती गरेर जाँदैनौ । पहिरो भन्दा एक किलोमिटर अगाडि नै गाडी साइड लगाएर बस्छौ । अरू गाडी, कार, मोटरसाइकललाई पनि भन्छौ तर उनीहरू मान्दैनन् । जसका कारण दुर्घटनामा परेका पनि छन् । यात्रुहरूलाई अगाडि ढुङगा झरिरहेको छ, पहिरो आइरहेको छ अगाडी नजानुस् भन्छौ । हेपेर जान्छन् । पहिरो, खोला बाढीको मोबाइलमा भिडियो खिच्न हतार हुन्छ ।’
चालक समुन्द्र श्रेष्ठले भने यात्रा गर्दा चालक, सहचालक र यात्रु स्वयम नै बढी सजक रहनुपर्ने बताए । उनले लामो दुरीको यात्रा गर्दा यात्रुले अनिवार्य रुपमा सम्बन्धित काउन्टरमा पुगेर टिकट काट्न समेत अनुरोध गर्छन् ।
उनले भने, ‘यात्रीहरूले सबैभन्दा पहिला सम्बन्धित काउन्टरमा आएर टिकट काट्नुपर्छ । टिकट काटे बापत बीमा हुन्छ, भवितव्य केही भयो भने बिमाबाट सहयोग हुन्छ । त्यसैले यात्रा गर्दा टिकट अनिवार्य काट्नुहोला । अन्य व्यक्तिहरूसँग भन्दा काउन्टरबाट टिकट लिन सहज हुन्छ र जिम्मेवारी वहन धेरै हुन्छ ।’
चालक श्रेष्ठले यात्रामा ट्राफिकसँग समन्वय नहुने भएकाले सवारी चालकहरू नियमपूर्वक अनुशासित भएर गाडी चलाउनुपर्ने बताए ।
‘चालकहरूले नियमपूर्वक अनुशासित हुनुपर्छ । अहिलेको परिस्थितिमा सहचालक, चालक अलि बढी सावधान भएर हिँड्नुपर्छ । यात्रा गर्दा ट्राफिकसँग समन्वय हुँदैन । बाटोको बारेमा पूर्व जानकारी सामाजिक सञ्जालबाट आउँछ । यो बर्खा यामको समयमा एक दुई दिन अगाडी नै पारी पर्यो भने सजग भएर काम गर्छौ,’ उनले भने ।
पश्चिम नेपालको यात्रामा निस्किने तयारीमा रहेका यात्रु माधव पन्थी पनि यात्रा गर्नुभन्दा अगाडि मौसम सम्बन्धी सूचना लिएर र बाटोको अवस्था बुझेर मात्र यात्रा गर्छन् ।
उनी भन्छन् ‘म पश्चिमको यात्रा गर्दै छु । मौसम बदली भएको वेलामा बाटोघाटोमा पहिरो जान सक्छ अथवा जाम हुन सक्छ त्यसको सूचना पहिले नै लिनुपर्छ । मौसम सम्बन्धी सूचना लिएर हिँड्नुपर्छ । तालिका बनाएर हिडने, अपडेट लिने गरेको छु ।’
उनले चालकहरूले पनि सूचनाहरू आफ्नो सवारीमा देखिने किसिमले सूचना प्रवाह गर्न सके सबैलाई राम्रो हुने बताए । यस्तो समयमा यात्रा गर्दा सवारी चालक र यात्रीहरूले आवश्यक पूर्व तयारी र सावधानी अपनाउन सके ठुलो दुर्घटनाबाट बच्न सकिने पन्थीको बुझाइ छ ।
यता, सरकारले वर्षा याममा बाढी पहिरोले सडक अवरुद्ध भए यातायात सेवा तत्काल खुलाउन पूर्व तयारी गरेको दाबी गरेको छ । हरेक वर्ष देशभरिका राष्ट्रिय राजमार्ग तथा सहायक राजमार्गहरू अवरुद्ध हुँदै आएका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षा याममा राष्ट्रिय राजमार्गहरू चार घण्टाभन्दा बढी अवरोध हुन नदिने गरी तयारी गरेको भए पनि त्यो प्रभावकारी नदेखिएको चालकहरूको गुनासो छ ।
राष्ट्रिय राजमार्ग अवरुद्ध भए सडक विभाग मातहतको सम्भार महाशाखाले पुन निर्माणको काम तत्काल गर्ने गरी नौ अर्ब रुपैयाँ बजेट छुटाइएको छ । नेपालमा बीपी राजमार्ग, अरनिको राजमार्ग, कान्ति राजमार्ग, पृथ्वी राजमार्ग बढी जोखिममा छन् ।
नेपाल न्यूज बैंक












