पेन्सिल्भेनियाको ह्यारिसबर्गमा नाटक भानुभक्त प्रदर्शन


ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जीवनीमा आधारित नाटक ‘भानुभक्त’ मञ्चन गरिएको छ ।
आदिकवि भानुभक्तको जीवनीको नाट्य रूपान्तरण साहित्यकार गण्डकीपुत्रले गरेका थिए । गण्डकीपुत्रले नै निर्देशन गरेको नाटक भानुभक्तको प्रदर्शन पछि नाटक सशक्त रहेको प्रतिक्रिया दर्शकबाट आएको थियो ।
नाटकमा घाँसीको भूमिका त्रिवेणी साहित्य मञ्चका अध्यक्ष केशब वैरागी माइलोले निभाएका थिए भने नाटकमा भाषा सम्पादन उनैको थियो । गजाधर सोतीको भूमिका निभाएका थिए कलाकार प्रकाश नौबागले । प्रकाश लामो समय देखी नाटकमा सक्रिय छन् । गजाधरकी श्रीमतीको भूमिकामा थिइन रुपा बराल । रुपा बरालको भूमिकालाई सबैले प्रशंसा गरेका थिए।
भानुभक्तको भूमिकामा थिए उदीयमान गायक , कवि गोबिन्द अधिकारी , अधिकारी जीवन्त भानुभक्त भएर मञ्चमा प्रस्तुत भएका थिए ।
नाटकमा पार्श्वबाट बाँसुरी वादनमा थिए बाँसुरी वादक फुर्वा तामाङ । नाटकको बिट मारेकी थिइन , हिन्दु धर्म तथा सांस्कृतिक सङ्गठनकी उपाध्यक्ष वसुधा रिजालले नाटककै परिबेससँग जोडिएको कविता सुनाएर ।
११२ औँ भानु जयन्तीको आयो जना त्रिवेणी साहित्य मञ्च ह्यारिसबर्गले गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि थिए भारतको वाराणसीमा लामो समय अध्यापन गराई रहेका प्रा.डा. हरिप्रसाद अधिकारी । कार्यक्रममा अमेरिकाबाट भानुलाई पत्र पढेर र वक्तव्य मार्फत सुनाइएको थियो । यसरी पत्र सुनाउनेहरू डा.तुलाराम न्यौपाने , डा.वासुदेव मिश्र र युवा कवि देवीका बराल थिए । देवीका बरालले ओहायो निवासी वासु पोख्रेलको भानुलाई पत्र सुनाएकी थिइन ।
कार्यक्रममा बालन र सङ्गिनी गाइएको थियो । सङ्गिनी नृत्यमा वसुधा रिजाल , वेदमाया चम्लागाई , मिना आचार्य , देवीका पोख्रेल , भिमा गौतम , र कमला दङ्गालको सहभागिता थियो । त्यस्तै बालनमा केशब धिमाल , डिल्ली अधिकारी लगायतको समूह थियो । सङ्गिनी र बालन नेपालीहरूको परम्परागत नृत्य भएकोले साहित्य मञ्चले त्यसको जगेर्ना गर्ने उद्देश्य राखेर कार्यक्रममा यी नृत्य समावेश गरिएको थियो ।
कार्यक्रममा भानुको जीवनी साहित्यकार गण्डकीपुत्रले प्रस्तुत गरेका थिए भने स्वगत मन्तव्य अवी अधिकारीले गरेका थिए । ल्यानक्यास्टरका बाल प्रतिभाहरूको गीत र नृत्यले कार्यक्रममा रोचकता थपेको थियो भने गुरुङ सिस्टर डान्स क्लबका कलाकारले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । कविहरू त्रिविक्रम न्यौपाने , निषा पाण्डे , केशव धिमाल लगायतले कविता वाचन गरेका थिए ।

प्रमुख अतिथि प्रा . डा . हरिप्रसाद अधिकारीले अमेरिका भ्रमणका क्रममा भानु जयन्तीका अवसरमा सहभागी हुन पाउँदा खुसी लागेको भन्दै नेपाली परम्पराका बालन , सङ्गिनी , गीत नृत्य र कविताका साथ नाटकको स्वाद लिन पाएकोमा गर्व लागेको बताएका थिए ।

कार्यक्रममा हिमालयन तेक्वान्दो ह्यारिसबर्गकी सञ्चालिका तथा प्रशिक्षक पुनम दुलालले भाषाको क्षेत्रमा सक्रिय सबैका प्रति आफ्नो तर्फबाट सहयोग रहने कुरा बताएकी थिइन । कार्यक्रममा विशेष अतिथिका रुपमा साहित्यकार डी बि सारू , समाजसेवी टि बि गुरुङ , समाजसेवी दिपकजङ्ग विश्वकर्मा , गायक , सङ्गीतकार अगम गुरुङ लगायतको उपस्थिति थियो । कार्यक्रमको सभापतित्व मञ्चका उपाध्यक्ष प्रेम घिमिरे र सञ्चालन सचिव नारद सुदामा आचार्यले गरेका थिए ।