वृहत् एकताको पक्षमा सहयोग गर्ने एनसीसीलाई हाम्रो साथ : एनआरएनए अध्यक्ष श्रेष्ठ

Getting your Trinity Audio player ready...
|
काठमाडौं । सर्वोच्च अदालतको परमादेश अनुसार आयोजित एकता महाधिवेशनबाट निर्वाचित गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठल वृहत् एकताको पक्षमा रहेर र वैधानिक रुपमा अधिवेशन गरेका राष्ट्रिय समन्वय परिषद् एनसीसीलाई मान्यता दिने प्रष्ट पारेका छन् ।
तर, अवैधानिक रुपमा संघको सचिवालय कब्जा गरेको केसी समूहले एनसीसीको निर्वाचन गराए पनि कुनै पनि हालतमा अक्टोबरमा आइसीसीको अधिवेशन हुनै नस्कने प्रष्ट पार्दै उनीहरूसँग सहकार्य गर्ने र एकताको वातावरण बिथोल्ने एनसीसीलाई मान्यता नदिने बताए ।
‘केही साथीहरूलाई लागेर मात्रै हुँदैन, देशको कानुन, नियम र सर्वोच्च अदालतको परमादेशलाई पनि मान्नुपर्छ होला’ उनले भने ।
गत मे महिनामा एनआरएनए उच्चस्तरीय समितिले काठमाडौँमा आयोजना गरेको एकता महाधिवेशनद्वारा नयाँ आइसीसी निर्वाचित भइसकेकाले अब अक्टोबरमा गराउने भनेको चुनाव वैधानिक नहुने पनि श्रेष्ठले बताए । केसी पक्षले अहिलेसम्म एनआरएनएको तालुकदार निकाय, परराष्ट्र मन्त्रालय, सँग कुनै पनि समन्वय नगरी एकतर्फी रुपमा एनसीसीको अधिवेशन गराएर प्रवासमा बस्ने नेपालीहरूलाई फुटाउने काम गरेको पनि उनको भनाई छ ।
अहिले विभिन्न देशमा भइरहेको राष्ट्रिय समन्वय परिषद्हरूको चुनावलाई नजिकबाट नियाली रहेको उनले बताए । उनले निर्वाचन भएका र हुन लागेका एनसीसीहरुले आफू नेतृत्वको कार्यसमितिसँग सहमति गरेर गएमा स्वीकार गरिने पनि प्रष्ट पारे ।
सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले गराएको निर्वाचनबाट सर्वसम्मत अध्यक्ष भएका श्रेष्ठले सुरु देखि नै एकताको पक्षमा आफूलाई उभ्याए पनि संघको सचिवालय कब्जा गरेर बसेको केसी समूहका कारण त्यो सम्भव नभएको उनको भनाई छ ।
उक्त समूहले अक्टोबरमा आइसीसीको अधिवेशन गर्ने भन्दै धमाधम एनसीसीहरुको चुनाव गराइरहेको विषयमा जानकार रहेका अध्यक्ष श्रेष्ठले आफ्नो कार्यसमिति अहिले पनि एकताको पक्षमा रहेकाले एनसीसीहरुको चुनावका सन्दर्भमा आफू प्रष्ट रहेको बताए । ‘अहिले पनि म दुई वटा समानान्तर एनसीसी बनाउने पक्षमा छैन । तर केही साथीहरूले त्यो अभ्यास गर्नु भएको छ, यो कुरा स्वीकार्य छैन ।’
उनले स्पष्ट शब्दमा भने ‘एनसीसीहरुले अक्टोबरमा केसी समूहले गर्ने भनिएको अधिवेशनमा प्रतिनिधि र सदस्यता शुल्क पठाउनहरुलाई मान्यता दिन सकिँदैन ।’ उनले एनसीसीहरु स्वायत्त रहेको र अदालतको अन्तिम फैसला नआउँदासम्म तटस्थ बस्न पनि अनुरोध गरेका छन् ।
केही देशका एनसीसीले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको किनारा नलाग्दासम्म दुवै पक्षसँग सहकार्य गर्ने एमओयु गरेर अधिवेशन गराएको पनि अध्यक्ष श्रेष्ठले बताए । केही सामाजिक सञ्जालहरूमा फलानोलाई श्रेष्ठले बधाई दिए भन्दै आएका समाचार र सामग्रीप्रति आफ्नो ध्यानाकर्षण भएको पनि उनले बताए । उनले भने ‘एकताको पक्षमा लाग्न फेरि पनि साथीहरूलाई आग्रह गर्छु ।’
श्रेष्ठले सर्वोच्च अदालतले गरेको फैसला आफूले मान्ने बताउँदै अहिले एनसीसीहरुलाई फुटाउने भन्दा पनि एक ढिक्का बनाएर एनआरएनहरूको अधिकारका लागि नेपाल सरकारसँग पहल गर्नु पर्ने बेला रहेको जनाए ।
अहिले सम्म झन्डै ४० देशमा एनसीसीहरुको चुनाव सम्पन्न भएकोमा आधि भन्दा बढी वैधानिक आइसीसी सँग निकट रहेको उनले जनाए । सम्पूर्ण विवरण केही दिनमा सार्वजनिक गर्ने पनि श्रेष्ठले बताए ।