इन्स्पायर टु रनको उपाधि कायल र एनालाई

Getting your Trinity Audio player ready...
|
गोबिन्द लेक्स गुरुङ /
कार्लायल, पेन्सिलभेनिया / कायल डेभिसले इन्स्पायर टु रन ५ किलोमिटर दौड प्रतियोगितामा पुरुषतर्फको उपाधि जितेका छन् ।
मेकानिक्सबर्गस्थित एडभेन्चर पार्कमा शनिबार आयोजित प्रतियोगितामा उनले सबै प्रतिस्पर्धीलाई पछि पार्दै ५ किलोमिटरको दुरी २१ मिनेट ३१ सेकेन्डमा पूरा गरेका थिए ।
उत्कृष्ट प्रदर्शनका साथ दौड पूरा गरेका डेभिसले प्रतियोगिताको पहिलो स्थान हात पारेका हुन्। प्रतियोगितामा नेपाली भाषी सौगात अधिकारीले पनि उल्लेखनीय प्रदर्शन गर्दै दोस्रो स्थान प्राप्त गरे। उनले ५ किलोमिटरको दूरी २१ मिनेट ५७ सेकेन्डमा पूरा गरे। तेस्रो स्थान बेनले हासिल गरे । उनले २३ मिनेट ३९ सेकेन्डमा दौड पुरा गरेका थिए ।
महिलातर्फको दौडमा भने एना विजेता बनिन्। उनले २४ मिनेट ७ सेकेन्डमा दौड पुरा गर्दै उपाधि हात पारिन् । महिलातर्फको प्रतिस्पर्धामा उत्कृष्ट प्रर्दशनका साथ अग्रस्थानमा रहँदै दौड पुरा गर्न सफल भइन् । मानसिक तथा शारीरिक स्वास्थ्यका लागि खेलकुद मुल नाराका साथ आयोजित यो कार्यक्रम ह्यारिसवर्ग, मेकानिक्सवर्ग लगायत अमेरिकाको विभिन्न राज्यबाट खेलाडीहरु सहभागी भएका थिए ।
‘इन्स्पायर टु रन’ कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको संस्था ‘इन्स्पायर टु एक्सप्लोर’ले नेपाली तथा नेपाली भाषी समुदायबीच सामाजिक एकता, स्वास्थ्य जागरुकता र सामूहिक सहभागितालाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ। संस्थाका अध्यक्ष निलहरी भण्डारीका अनुसार, दौडजस्ता क्रियाकलापले व्यक्तिमा आत्मविश्वास बढाउने, मानसिक तनाव कम गर्ने र समुदायबीचको आपसी सम्बन्ध अझ बलियो बनाउने कार्यमा उल्लेखनीय योगदान पु¥याउने बताए ।
उनले भने, “खेलकुद शारीरिक तन्दुरुस्ती मात्र होइन, मानसिक सन्तुलन र सामाजिक एकताको स्रोत पनि हो। यस्तो प्रकारका कार्यक्रमहरूबाट युवापुस्ता विशेष लाभान्वित हुन्छन्। उनीहरूमा नेतृत्व, आत्मअनुशासन र सामाजिक उत्तरदायित्वको भावना विकास हुन्छ।”
‘इन्स्पायर टु एक्सप्लोर’ले विगत केही वर्षदेखि अमेरिकामा रहेका नेपाली र नेपाली भाषी समुदायलाई समेटेर खेलकुद र सामाजिक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।
यता, भुटनिज कम्युनिटी अफ ह्यारिसबर्गका अध्यक्ष तिलक निरौलाले यस्तो कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए। उनले भने, “जसरी समाज विविधतामा एकता खोजिरहेको छ, यस्ता गतिविधिहरूले समुदायलाई अझ नजिक ल्याउने काम गर्छ। युवाहरूलाई सिर्जनशील कार्यमा लाग्न प्रेरित गर्नु आजको आवश्यकता हो।”
उनले थपे, “यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो समुदायप्रतिको जिम्मेवारी बुझ्ने अवसर दिन्छ र सँगै सामाजिक सहभागिता बढाउँछ।” समुदायको सामूहिक उत्थान, स्वास्थ्य जागरण र सकारात्मक सोचको विकासमा केन्द्रित यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तरता दिइने आयोजकहरूले जनाएका छन् ।
‘इन्स्पायर टु एक्सप्लोर’ संस्थाको आयोजना तथा पेन स्टेट कलेजमा अध्ययरत नेपाली तथा नेपाली भाषी विद्यार्थी तथा एसियन रिफुजी संघको सहकार्यमा यो कार्यक्रम आयोजना भएको थियो ।