एनआरएनए अस्ट्रेलिया भिक्टोरिया राज्य संयोजक पदमा महादेव धानुकको उम्मेदवारी

भिक्टोरिया/ गैर आवासीय नेपाली संघ ( एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अस्ट्रेलिया भिक्टोरिया राज्य संयोजक पदमा महादेव धानुकले उम्मेदवारी घोषणा गरेका छन्।
डेढ दशक देखि सामाजिक कार्यमा सक्रिय धानुक हाल भिक्टोरिया राज्य उप संयोजक हुन्।
त्यस अगाडि उनी एनआरएनए भिक्टोरियामा २ वर्षसम्म सदस्य पदमा कार्यरत थिए।
नेपाली तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी तथा रेफ्रि समेत रहेका धानुक सामाजिक कार्यमा आफ्नो समर्पण कहिल्यै अन्त नहुने भन्दै उम्मेदवारी घोषणा गरेका हुन्।
‘सामाजिक कार्यप्रतिको मेरो समर्पण कहिल्यै अन्त्य हुँदैन, किनकि म पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी तथा रेफ्री पनि हुँ।‘ आफ्नो उम्मेदवारी घोषणा गर्दै धानुकले भनेका छन्, ‘खेलकुदले मलाई अनुशासन, इमानदारी, समर्पण र स्पोर्ट्सम्यानसिप सिकायो, र यसै कारण म समुदायसँग जोडिन, नयाँ व्यक्तिहरूलाई चिन्न र सबैको आवाज सुन्ने प्रेरणा सदैव पाइरहेको छु।‘
सहकार्य, पारदर्शिता, जबाफदेहिता, समावेशिता र सामुदायिक सद्भावलाई धानुकले आफ्नो अभियानको मूल मन्त्र बनाएका छन्।
धानुकले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने, विद्यार्थी र आपत्कालीन अवस्थाका लागि सहयोग प्रणाली निर्माण र सामाजिक, सांस्कृतिक र खेलकुद कार्यक्रमहरूलाई सशक्त बनाउने आफ्नो दृष्टिकोण र प्राथमिकताहरू निर्धारण गरेका छन्।

यस्तै सामुदायिक भवन निर्माणमा सहकार्य, खुला संवादमार्फत समुदायको आवाज सुन्ने, महिला, युवा र दोस्रो पुस्ताको पहिचान तथा नेतृत्व विकास, भिक्टोरिया क्षेत्रका समुदायहरूसँग सहकार्य तथा संलग्नता प्रवर्द्धन, नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण, शिक्षा, रोजगारी र मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउने र डिजिटल प्रविधिबाट सेवा प्रवाहमा सहजता र पहुँच विस्तार गर्ने घोषणा समेत गरेका छन्।

धानुकले आफ्ना थप प्रतिबद्धता र नीति–दृष्टिकोणमा गैर आवासीय नेपालीहरूका मुख्य सरोकारहरूको संस्थागत सम्बोधन गर्ने, एनआरएनए परिचयपत्रको विश्वसनीयता, प्रयोग र अन्तर्राष्ट्रिय स्वीकृति विस्तार गर्ने जनाएका छन्।

यस्तै द्वैध नागरिकताको सरल, पारदर्शी र सुनिश्चित प्रक्रियाका लागि नेपाल सरकारसँग निरन्तर संवाद र दबाबमूलक वार्ता, नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत सहकार्य, नयाँ पुस्तालाई एनआरएनएमा समावेश गरी नेपालको समग्र विकासमा भूमिकामूलक सहभागितालाई पनि आफ्ना नीतिमा समावेस गरेका छन्।
धानुकले एनआरएनएलाई सबैको साझा संस्था बनाउन पनि आफूलाई निर्वाचित गराउन भिक्टोरियावासी समक्ष अपिल गरेका छन्।