भुटानमा पदक जितेका शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत

काठमाडौं / राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १५ औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका पदक विजेतासहित टोलीलाई आइतबार स्वागत गरेको छ ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईलगायतले टोलीलाई त्रिपुरेश्वरस्थित राखेपमा स्वागत गर्दै सफलताका लागि बधाई दिए । त्यसअघि आइतबारै टोलीलाई कार्यकारी समितिका सदस्य भट्टराई, नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका प्रथम उपाध्यक्ष विजयलाल कायश्थसहित पदाधिकारी, खेलाडी, प्रशिक्षक, शुभचिन्तक, परिवारजनलगायतले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
भुटानको थिम्पूमा जेठ ३० देखि ३१ गतेसम्म भएको प्रतियोगितामा नेपालले १ स्वर्ण र ३ रजत जितेको थियो । नेपालबाट ३ पुरुष र २ महिला गरी ५ खेलाडीले सहभागिता जनाएका थिए ।
महिला एथलेटिक्स फिजिकलमा उर्मिला श्रेष्ठले नेपाललाई स्वर्ण दिलाइन् । सोही स्पर्धामा शिला ठकुरीले रजत पदक जितिन् ।
पुरुष ५५ केजी तौल समूहमा शरद सुवालले रजत तथा पुरुष स्पोटर्स फिजिक १७५ सेन्टिमिटर मुनी अवतार श्रेष्ठले रजत पदक जिते । पुरुष स्पोटर्स फिजिक १७५ सेन्टिमिटर माथि प्रनिश श्रेष्ठ पाँचौँ स्थानमा रहे ।
स्वागत कार्यक्रममा सदस्य–सचिव घिसिङले शारीरिक सुगठनले राष्ट्रलाई चिनाउने क्रममा थुर्पै अन्तर्राष्ट्रिय पदक जितिसेको बताउँदै पदक जितेर सारा नेपालीलाई खुशी बनाएकोमा खेलाडीलाई बधाई दिए ।
उनले शारीरिक सुगठन खेल बारे भने– ‘यो खेलको विशेषता र परिचय भनेकै खाली हात नआउने खेल हो’ ।
शारीरिक सुगठन महासंघका प्रथम उपाध्यक्ष विजयलाल कायश्थले हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा शारीरिक सुगठनले राष्ट्रलाई पदक दिलाउँदै आएको स्मरण गरे ।
टोलीसँगै अफिसियलका रुपमा भुटान गएका शारीरिक सुगठनका सचिव दिनुशकुमार राजभण्डारीले सन् २०२७ मा नेपालमा विश्व शारीरिक सुगठन च्याम्पियनसिप आयोजना बारे पनि भुटानमा छलफल भएको जानकारी गराए ।
व्यवस्थापकमा सुरेश सुवेदी, प्रशिक्षकमा रुजेश शाही, निर्णायकमा दीपेन्द्रकुमार प्याकुरेल तथा सहयोगीमा रमेश श्रेष्ठ र बालमुकुन्द अवाल भुटान गएका थिए ।