जिल्लाबाट नै आमाको नाममा नागरिकता दिने व्यवस्था मिलाऔँ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले जिल्लाबाट नै आमाको नाममा नागरिकता दिनुपर्ने बताएका छन् ।
शुक्रवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सबै खालका नागरिकता जिल्लाले दिइरहेको अवस्थामा आमाको नामबाट दिने नागरिकता पनि जिल्लाले दिनुपर्ने बताएका हुन् ।
‘सबै खालका नागरिकता जिल्लाले दिइरहेको छ भने नेपाली आमाबाट जन्म भई नेपालमा नै स्थायी बसोबास गरेका बाबुको ठेगाना नभएको अथवा बेपत्ता भएको, अथवा सहयोग नगरेको मानिसलाई किन मन्त्रालयले दिने ? सबै नागरिकता जिल्लाले दिने आमाको नाममा नागरिकता चाहिँ मन्त्रालयले दिने भन्ने हुन्न् । यसलाई जिल्लामा पठाउनुपर्छ भन्ने कुरामा म प्रष्ट छु,’ उनले भने ।
उनले आमाको नामबाट सहजरुपमा नागरिकता दिन नियमावली नै संशोधन गरी अगाडि बढ्ने बताए ।
‘त्यसका लागि नियमावली नै संशोधन गर्ने कुरामा अगाडि बढेका छौ । नियम नै संशोधन गरे पनि काठमाडौँको मन्त्रालयमा भएका फाइलहरू सबै जिल्लामा पठाउने हो,’ उनले भने ।
यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले एनआरएनए नागरिकहरूको नागरिकताले मताधिकार नहुने भन्दै त्यसको औचित्य नभएको बताए ।