एचपिएलमा क्यापिटल स्ट्राइकरको चौथो जित, शीर्षस्थानमा उक्लियो

Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ क्यापिटल स्ट्राइकरले ह्यारिसबर्ग प्रिमियम लिग (एचपीएल) मा चौथो जित हात पारेको छ।
ह्यारिसबर्गको लिङ्गगल्स पार्कमा रहेको क्रिकेट मैदानमा जारी लिगको छैटौँ खेलमा बुधवार क्यापिटल स्ट्राइकरले लिवर्टी वारियर्सलाई सात विकेटले हरायो। यो सँगै क्यापिटलले अङ्क तालिकामा पनि आफूलाई सुधार गर्दै शीर्ष स्थानमा पुर्याएको छ।
लिवर्टीले दिएको मात्र ९० रनको लक्ष्य क्यापिटलले १५ ओभर पाँच बलमा तीन विकेट विकेट खर्चँदै पुरा गर्यो।
क्यापिटलका कप्तान अनिल न्यौपानेले सर्वाधिक ३४ रनको योगदान दिए। २५ बलको सामान गरेका न्यौपानेले दुई चौका र दुई छक्का प्रहार गरेका थिए। यस्तै सागर राईले पनि २८, उदय आचार्यले १९ र नारायण खतिवडाले पाँच रन जोडेका थिए।
यस अगाडि पहिलो व्याटिङ्ग गरेको लिवर्टी वारियर्सले १४ ओभर दुई बलमा नौ विकेट गुमाउँदै ८९ रन जोडेको थियो। लिवर्टीका लागि ऋषभ सुनार र तारा अधिकारीले सर्वाधिक २८-२८ रन जोडेका थिए। यस्तै कैलाश मगरले पनि १६ रन जोडेका थिए।
लिवर्टीलाई मध्यम स्कोरमा रोक्ने क्रममा क्यापिटलका नारायण खतिवडाले तीन तथा कप्तान अनिल न्यौपानेले दुई विकेट लिएका थिए। यस्तै कुशल गैरे र विकास सुवेदीले पनि एक एक विकेट लिए।
अनिल नै खेलमा म्यान अफ दि म्याच घोषित भए।
लिगमा खेलका ६ खेल मध्ये चार जित सँगै क्यापिटलले आठ अङ्क बनाएको छ। छैटौँ चरणको खेलमा बेहोरेको हारले लिवर्टी वारियर्सले भने अङ्क तालिकामा पहिलो स्थान गुमाएको छ र तेस्रोमा झरेको छ।
एचपीएलमा चार टिम छन्। शीर्ष स्थानमा उक्लिएको क्यापिटलले ६ खेलमा चार जीत दुई हार खेलको हो।
पाँच खेल खेलेको सुस्केहाना टाइटन्स तीन जीत दुई हार बेहोर्दै ६ अङ्क सहित दोस्रो स्थानमा छ।
लिवर्टी वारियर्सको ६ खेलमा तीन जीत तीन हार खेल्दै ६ अङ्क सहित तेस्रो र ह्यारिसबर्ग थन्डरहक्स पाँच खेलमा एक जीत चार हार खेल्दै दुई अङ्क सहित पुछारमा छ।
क्रियामण्ड फाउन्डेसनको आयोजनामा लिग सञ्चालन भइरहेको हो।