एनआरएनए बद्री समूह र राष्ट्र बैंकबीच भेटवार्ता : लगानी प्रवर्द्धन र नीतिगत सुधारमा जोड

Getting your Trinity Audio player ready...
|
काठमाडौं / गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) मा डा. बद्री केसी अध्यक्ष रहेको समूहले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसँग भेटघाट गरेको छ।
सो समूहका अध्यक्ष केसीको नेतृत्वमा बिहीबार राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त भेटमा संघ र राष्ट्र बैंकबीचको आपसी सहकार्य तथा गैर आवासीय नेपालीको लगानी प्रवर्द्धन गर्न आवश्यक नीतिगत विषयहरूमा विस्तृत छलफल भएको जनाइएको छ।
भेटका क्रममा डा. केसीले नवनियुक्त गभर्नर प्रा.डा. पौडेललाई शुभकामना दिँदै समृद्ध नेपाल निर्माणमा गैर आवासीय नेपालीको लगानी तथा सहभागिता सहज बनाउन कानुनी र नीतिगत सुधारको लागि अनुरोध गरेको उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
गभर्नर प्रा.डा. पौडेलले गैर आवासीय नेपालीको योगदानलाई संस्थागत गर्न राष्ट्र बैंक तयार रहेको र नीतिगत सुधारका लागि समेत सकारात्मक रहेको बताएको जनाइएको छ। यस्तै लामो समयदेखि नेपाल सरकारसँग माग गर्दै आएका नीतिगत सुधारका पहलहरू सम्बन्धमा पनि पत्रमार्फत जानकारी गराइएको थियो ।
भेटमा पूर्व युवा उपसंयोजक लोकराज शर्मा, एनआरएन नेपाल डेभलप्मेन्ट फण्डका प्रमुख कार्यकारी अधिकृत डा अनलराज भट्टराई, संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत समेतको उपस्थिति रहेको थियो ।