तेस्रो रूप स्मृति क्रिकेटको उपाधि ह्यारिसबर्ग गोर्खालाई

बोस्टन,अमेरिका/ तेस्रो रूप स्मृति क्रिकेट प्रतियोगिताको उपाधि पेन्सिल्भेनियाको ह्यारिसबर्ग गोर्खा क्रिकेट क्लबले जितेको छ।
मेमोरियल विकेनमा आयोजित प्रतियोगिताको सोमबार बोस्टनमा भएको फाइनलमा साबिकको उप विजेता भर्जिनियाको एभरेष्ट लायन्स क्रिकेट क्लबलाई २७ रनले हराउँदै ह्यारिसबर्ग गोर्खाले उपाधि जितेको हो।
टस हारेर फाइनल खेलमा पहिलो ब्याटिङ गरेको ह्यारिसबर्ग गोर्खाले निर्धारित २० ओभरको खेलमा नौ विकेट खर्चँदै एक सय १८ रन बनाएको थियो।
ह्यारिसबर्गका लागि खगेन धिमालले सर्वाधिक २४ रन जोडेका थिए। यस्तै कप्तान सुक थिङले १९ रनको योगदान दिए। आनन्द साम्पाङले पनि १८ बनाए।
एभरेष्ट लायन्स सुजन खनालले तीन, विनोद कार्कीले दुई र दिपक पाठकले एक विकेट लिएका थिए।
जवाफमा एक सय १९ रनको लक्ष्य पछ्याएको एभरेष्ट लायन्स १९ ओभर दुई बलमा ९१ रन बनाउँदा अल आउट हुन पुगेको थियो।
एभरेस्टका तर्फबाट अनुप भण्डारीले २२, विवेक कार्कीले १९ र अर्जुन खड्काले १३ रन जोडे पनि टिमलाई जित दिलाउन सकेनन्।
एभरेस्टलाई रोक्ने क्रममा ह्यारिसबर्ग गोर्खाका खगेन धिमाल फेरि चम्किए। उनले सर्वाधिक चार विकेट लिए। धिमालले चार ओभरमा १५ रन खर्चिएका थिए। यस्तै तारा अधिकारीले तीन र संजोक बस्नेतले दुई विकेट लिए।
ब्याटिङ र बलिङ दुवै तर्फ चम्केका धिमाल फाइनल खेलको म्यान अफ दि म्याच घोषित भए।

प्रतियोगितामा वेस्ट ब्याटस्म्यान ह्यारिसबर्ग गोर्खाका कप्तान सुक थिङ घोषित भए । उनले पाँच खेलमा एक सय ४४ रन बनाएका थिए । यस्तै प्रतियोगिताको सर्वाधिक उत्कृष्ट खेलाडी पनि ह्यारिसबर्ग गोर्खाकै सन्जोग बस्नेत घोषित भए।

प्रतियोगिता गत वर्षको विजेता बोस्टन अल स्टारको सहकार्यमा गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले आयोजना गरेको हो। भारोत्तोलनका पूर्व राष्ट्रिय खेलाडी रूप कार्कीको स्मृतिमा प्रतियोगिता आयोजना हुँदै आएको छ।

गत वर्ष विजेता बोस्टन यस पटक क्वाटर फाइनलमा रोकियो।
ह्यारिसबर्ग गोर्खाले रूप स्मृति क्रिकेट जितेको यो पहिलो पटक हो। पहिलो संस्करणमा लिग चरणबाटै बाहिरिएको ह्यारिसबर्ग गोर्खाले दोस्रो संस्करणमा भाग लिएको थिएन्।
उपाधि ट्रफी सँगै ह्यारिसबर्ग गोर्खाले सात हजार पाँच सय अमेरिकी डलर नगद पुरस्कार पायो। दोस्रो लगातार दोस्रो पटक उपविजेतामा चित्त बुझाएको एभरेष्ट लायन्सले चार हजार डलर पायो।