सिहान शान्त थोकरलाई पान अमेरिकन करातेबाट रेफ्रीमा डबल ए लाइसेन्स

न्यु योर्क,अमेरिका / कराते प्रशिक्षक तथा रेफ्री सिहान शान्त थोकरले पान अमेरिकन कराते महासंघबाट रेफ्रीमा दोहोरो ए लाइसेन्स प्राप्त गरेका छन्। उनी पान अमेरिकनबाट रेफ्रीमा दोहोरो ए लाइसेन्स पाउने पहिलो नेपाली बनेका छन्।
मे १९ देखि २५ तारिख सम्म मेक्सिको मोन्टेरेमा भएको ‘३८ औ सिनियर पान अमेरिकन कराते च्याम्पियनसिप’ कै क्रममा भएको रेफ्री तथा जर्जको परीक्षा पास गर्दै थोकरले यो सफलता पाएका हुन्। मे २४ तारिख शनिवार उनले काता तर्फ ए लाइसेन्स पाएका हुन्। कुमुतेमा उनले यस अगाडि २०२३ मा नै ए लाइसेन्स पाएका थिए।
पान अमेरिका कराते महासंघ यस क्षेत्रका ३७ वटा राष्ट्र राष्ट्रिय कराते महासंघहरुको छाता संगठन हो। पान अमेरिकन कराते महासंघ विश्व कराते महासंघमा आबद्ध छ।
पान अमेरिकन कराते महासंघले हरेक वर्ष सिनियर र जुनियर गरी दुई वटा च्याम्पियनसिप आयोजना गर्छ।
पान अमेरिकन कराते महासंघबाट रेफ्रीमा ए लेबल लाइसेन्स पाउनका लागि राष्ट्रिय रेफ्रीमा दोहोरो ए लाइसेन्स हुनु पर्छ । राष्ट्रिय रेफ्रीमा कातामा तीन र कुमिते पाँच तह पुरा गरे पछि मात्र पान अमेरिकनमा जान पाइन्छ।
कातामा जर्ज सी, बी र ए लेबल हुन्छ । कुमुतेमा जर्जको सी, बी, ए र रेफ्री बी र ए लेबल हुन्छ।
कराते खेलमा जर्जले म्याटको चार कुनामा बसेर खेलमा निर्णय दिन्छन् भने रेफ्रीले खेल खेलाउँछन्।
कुनै पनि लेबलको लाइसेन्स पाउनका लागि लिखित र प्रयोगात्मक परीक्षा पास गर्नु पर्ने हुन्छ। सिनियर पान अमेरिकन कराते च्याम्पियनसिप हरेक देशको राष्ट्रिय च्याम्पियनले भाग लिन्छन्।
पान अमेरिकनमा सिनियर तर्फ हरेक तौल समूह पहिलो, दोस्रो र तेस्रो हुनेले विश्व च्याम्पियनसिपमा खेल्न पाउँछन्। यस पटकको विश्व च्याम्पियनसिप इजिप्टको काइरोमा नोभेम्बर २७ देखि ३० सम्म हुँदै छ। थोकरलाई अब विश्व च्याम्पियनसिप खेलाउने बाटो खुलेको छ।
थोकरले सन् २०१९ देखि पान अमेरिकन च्याम्पियनसिपको यात्रा शुरु गरेका हुन्। उनले सन् २०१३ मा अमेरिकी कराते महासंघबाट काता र कुमुते दुवै तर्फ दोहोरो ए लाइसेन्स पाएका थिए।
‘स्कुलमा व्यस्त हुन परेकोले अलिकति ढिलो भयो, तर खुसी छु, करातेमा मेरो मेहनत र निरन्तरताको फल हो।‘ पान अमेरिकन रेफ्रीमा दोहोरो लाइसेन्स पाए पछि थोकरले भने, ‘सन् २०१९ बाट शुरू गरेको यात्रा करिब ७ वर्ष पछि सफल भए।‘
थोकर अमेरिकामा कराते स्कुल खोल्ने पहिलो नेपाली हुन्। उनले सन् २००७ मा अमेरिकाको न्यु योर्कमा कराते स्कुल स्थापना गरेका थिए।
न्यु योर्कमा स्कुल स्थापना गरेको १७ वर्ष पछाडि उनले गत वर्ष न्यु योर्कमा कराते च्याम्पियनसिपको पनि आयोजना गरेका थिए। थोकरले अब हरेक वर्ष डिसेम्बरमा ‘आइएमए न्यु योर्क कराते च्याम्पियनसिप आयोजना गर्ने घोषणा गरी सकेका छन्।
डन बन्न हिँडेका थोकर बने ‘डान‘
चालिसको दशक अघिको नेपाली गाउँले समाजमा युवाहरूको अनौठो सोख हुन्थ्यो । आफू बलियो कसरी हुने । अर्थात् गाउँ टोलमा डन कसरी बन्ने । मनोरञ्जनका साधन भनेकै समय समयमा लाग्ने हाट बजार, मेला पर्दथे । मेलामा जाँदा ओल्लो गाउँ र पल्लो गाउँ बिचमा झैँ झगडा हुनु सामान्य । त्यस्ता झगडामा कुन गाउँले जित्यो त्यसमा पनि कुन केटाले खतरा कुट्यो त्यो त्यस क्षेत्रकै चर्चित व्यक्ति । अहिलेको परिभाषामा “डन” ।
दोलखाको भेडपुका १५ बर्षे ठिटो शान्त थोकरलाई पनि त्यस्तै डन बन्ने हुटहुटी जाग्यो । कसरी बलियो बन्ने ? गाउँमा पुलिस आर्मीमा जागिर खाने धेरै थिए । उनीहरू छुट्टीमा आउँदा हुस्…. हा… हु…..को आवाज निकाल्दै कसरत गर्दथे । शान्त थोकरले चासो दिए, उनीहरूले कराते खेलेका रहेछन् ।
काका धनबहादुर र भीम लामा व्याल्कवेल्ट। उनीहरू गाउँमा आउँदा करातेका बारेमा गफ गर्थे । दुई चार वटा किक पनि देखाउँथे । किकले शान्ता थोकरलाई आकर्षित बनायो । ओहो बजार गएको बेलामा पनि यस्तै किक हानियो भने त दुई चार जना त्यसै ढालिन्छ, गम्दै उनी पनि कराते किक हान्न सिक्न थाले । डोरी टाँगेर कसले माथि हान्ने भन्ने साथीहरू बिचमा होडबाजी नै ।
जे सोचेर शान्त थोकरले कराते सिक्न शुरु गरेका थिए, त्यसको प्रयोग उनलाई गर्न परेन । तर कराते शुरु गर्दा जुन कुरा उनले सोचेका पनि थिएनन् त्यो अहिले भोग्दै छन् । शान्त थोकर डन होइन डानको सिडी चढ्दै गए । उनले अमेरिकामा छैटौँ डान हासिल गरे। यो सँगै उनको नाम अगाडि सिहान थपियो। “सिहान शान्त थोकर” । यो करातेमा सम्मानित पद हो । प्राध्यापक भने जस्तै गुरुको पनि गुरु ।
अमेरिकामा कराते स्कुल सञ्चालन गर्ने पहिलो नेपाली शान्त थोकरले उपाधि त्यति सजिलै पाएका होइन । त्यसका लागि उनले तीन दशक खर्चिएका छन् । चरिकोट स्थित कालिङचोक माविबाट २०४२ सालमा एसएलसी परीक्षा दिए पछि उच्चशिक्षाका लागि शान्त हानिए काठमाडौँ । भीम लामा प्रहरी तालिम केन्द्रमा कराते प्रशिक्षक थिए । उनकै सिफारिसमा शान्त पशुपति वन काली लागे, जहाँ मानबहादुर तामाङले डोजो सञ्चालन गरेका थिए ।
दोलखा हुँदा शान्तलाई कराते भन्ने थाहा थियो । काठमाडौँ आए पछि कुन कराते भन्ने प्रश्न तेर्सियो। सितोरियो र क्योकिसिन मात्र राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको थियो । वनकालीमा वादोरियो सिकाइन्थ्यो । उनी वन काली नै लागे । “गाउँमा हुँदा पनि सेल्फ डिफेन्सका लागि भनेर करातेमा लगाव बढेको हो, सितोरियो सेमीकन्ट्याक्ट थियो, त्यति धेरै चर्चामा पनि थिएन, मलाइ फुलकन्टयाक्ट मन पर्ने, त्यसैले वादोरियोमा जाने निर्णय गरे।” कराते रोजाइका बारेमा थोकरले प्रस्टाए।
“गाउँमा आफू बलियो हुनका लागि सिकियो, जात्रा जाँदा बलियो हुने भन्ने हुन्थ्यो, तर जब कराते पढ्दै गए त्यस्तो होइन, कराते भनेको हा… हु … गर्ने होइन अनुशासन हुन्छ भन्ने थाहा भयो।”
६ वर्ष जतिको प्रशिक्षण पछि उनले ब्याल्कबेल्ट पाए । वादोरियो कराते पनि परिषद्मा दर्ता भयो । शान्त आफै पनि कराते प्रशिक्षक बने । २०४९ सालमा पहिलो पटक वादोरियोको राष्ट्रिय प्रतियोगिता आयोजना भयो । दुई सय जनाले भाग लिएका थिए । सबैलाई खुला तौल समूहमा प्रतिस्पर्धा गराइएको थियो । शान्तले स्वर्ण पदक जिते । जीवनको पहिलो ठुलो स्वर्ण । गणेश खड्का, मणि लामा लगायतलाई हराएका थिए।
त्यो स्वर्ण पछि शान्तले वादोरियो सँगको साइनो तोडे, सोतोकानमा लागे । पेम्वा तामाङ प्रमुख प्रशिक्षक थिए । जापानमा सिकेर आएका थिए पेम्वाले कराते । “पेम्वा गुरुबाट नयाँ कुरा सिक्न पाइन्छ भन्ने लायो, उनले जापानमा सिकेको राम्रो सिकाउँछन् भन्ने लाग्यो।” उनले भने।
वादोरियोमा व्याल्कबेल्ट लिएका शान्तले सातोकानमा शून्यबाटै शुरु गरे । “नयाँ“ कराते भएकाले मैले फेरी शुरुबाट नै सिक्नु पर्ने भयो, ६ महिनामा ग्रिन र एक वर्षमा ब्राउनवेल्ट लिए, एक पटक कराते सिकिसकेको भएर अप्ठेरो भएन।”
सातोकान सिकेको एक वर्षमा २०५१ सालमा राष्ट्रिय प्रतियोगिता भयो । त्यसमा पनि खुल्ला तौलमा उनले स्वर्ण पदक जिते । “ग्रिन बेल्ट लिए पनि म आफै जुनियर प्रशिक्षक पनि थिए त्यसले पनि मलाइ खेल्न सजिलो भयो ।” उनी पुराना कुरा सम्झन्छन्।
सन् २००० मा काठमाडौँमा नै भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सोतोकान च्याम्पियनसिपमा शान्तले दोहोरो स्वर्ण जिते । उनले एकल र टिम स्पर्धामा स्वर्ण पाएका थिए । दुई पटक विश्व च्याम्पियनसिप खेल्ने क्रममा उनले काश्य पदक हात पारे । सन् २००५ मा अमेरिकाको लसभेगासमा भएको विश्व च्याम्पियनसिपमा ३५ वर्ष उमेर माथि काता कुमुते दुबैमा कास्य पदक जितेका थिए ।
सन् २००७ देखि अमेरिका बस्दै आएका शान्तले नेपालमा सोतोकानको प्रमुख प्रशिक्षक, नेपाल सोतोकान संघको महासचिव, कराते महासंघको सदस्य, रेफ्री कमिटी र टेक्निकल कमिटी सदस्यको जिम्मेवारी पुरा गरेका थिए । अमेरिकामा करातेका नेपाली रेफ्री र प्रशिक्षक दर्जनौँ छन् तर अमेरिकी कराते निकायमा दर्ता गराएर कराते स्कुल सञ्चालन गर्ने शान्त पहिलो हुन् । सन् २००७ न्यु योर्कमा पहिलो पटक कराते स्कुल खोलेका शान्तले त्यो स्कुल उनकै चेलालाई बेचेर उडसाइडमा आइएमए निहोन कराते डो खोले। अहिले त्यसको शाखा फरेष्टहिलमा पनि विस्तार गरेका छन्।
शान्तले पहिलो देखि तेस्रो सम्म डान जापानमा लिए । त्यस पछि अमेरिकाको कोलोराडोमा मुख्यालय रहेको इन्टरनेश्नल मार्शलआर्ट एसोसिएसन (आएइमए) बाट उनले डान ग्रेडिङ गर्दै आएका छन् । चौथो डान सन् २००५ पाएका शान्तले पाँचौँ डानका लागि सन् २०१३ सम्म कुर्नु परेको थियो ।
सन् २०१६ मा अमेरिकाको कोलोराडोमा छैटौँ डान पाए। उनी काता र कुमुते दुवै तर्फ अमेरिकी कराते राष्ट्रिय रेफ्री लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली पनि हुने। सन् २०१३ शान्तले सो सफलता पाएका थिए। सन् २०२३ पान अमेरिकन कराते महासंघमा कुमुतेमा रेफ्री ए लाइसेन्स पाएका उनले यस पटक कातामा पनि आफूलाई प्रमाणित गरे।
र अब डबल्स ए लाइसेन्स रेफ्री बने।