नेपा पार्टीसँगको एकता बढी महत्त्वपूर्ण छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपा राष्ट्रिय पार्टीसँगको पार्टी एकतालाई माओवादी केन्द्रले अलि बढी नै महत्त्व दिएको बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित माओवादी र नेपा: राष्ट्रिय पार्टीबिच भएको एकीकरण समारोहमा उनले माओवादीले मानिसको संख्यालाई भन्दा उसको गुण, विचार, संस्कृति, मूल्य, मान्यतालाई बढी महत्त्व दिने भन्दै नेपा राष्ट्रिय पार्टीसँगको पार्टी एकतालाई बढी महत्त्व दिएको बताए ।
उनले भने, ‘नेपा राष्ट्रिय पार्टी मुख्यतः नेवार समुदायभित्र र त्यसमा पनि काठमाडौँमा अलि बढी केन्द्रित छ । हामीले मानिसको संख्यालाई भन्दा उसको गुण, विचार, संस्कृति, मूल्य, मान्यतालाई बढी महत्त्व दिन्छौ । विचार सही छ भने सानो पार्टी पनि ठूलो हुँदै जान्छ । विचार गलत छ भने ठूलो पार्टी पनि सानो हुँदै जान्छ । त्यही मान्यता अनुसार नै यो नेपा राष्ट्रिय पार्टीसँगको पार्टी एकतालाई माओवादी केन्द्रले अलि बढी नै महत्त्व दिएकै छ ।’
यस्तै, उनले माओवादी केन्द्र नेवार समुदायको अधिकार र पहिचानको लागि इमानदारिताका साथ लड्ने पार्टी भएको पनि बताए ।