वायु सेवा निगमलाई ‘धर्मपुत्र’ सरह पालिराख्नु पर्दैन : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल वायु सेवा निगमलाई सरकारले ‘धर्मपुत्र’ पालेको जसरी पाल्नुपर्ने आवश्यकता नभएको बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित डिजिटल नेपाल फ्रेम वर्क र अगाडिको बाटो विषयक मल्टी स्टेकहोल्डर छलफलमा उनले नेपाल वायु सेवा निगमलाई सधैँ सधैँ पैसा दिएर चलाइराख्नु भनेको बाँदरको हातमा नरिवल दिनु जस्तै भएको भन्दै यसलाई पाली राख्न नहुने बताए ।
उनले भने, ‘नेपाल वायु सेवा निगमको पहिला जे अवस्था थियो अहिले पनि त्यही नै छ । नेपाल वायु सेवा निगमलाई सधैँ सधैँ पैसा दिएर चलाई राख्ने यसबाट उन्नति हुन्छ भनेको बाँदरको हातमा नरिवल दिनु जस्तै हो । यसले दुरुपयोग मात्र गरेको छ । अरू केही पनि गरेको छैन । यसलाई पीपीए मोडेलमा लानुपर्छ । सरकारले ‘धर्मपुत्र’ पालेको जसरी पालिराख्न भएन् । आजको दिनसम्म पनि त्यसको हालत त्यस्तै छ ।’
यस्तै, उनले इमानका साथ एक पैसा दायाँबायाँ हुने गरेर काम गर्ने हो भने मुद्दा लाग्छ भनेर डराइ रहनुपर्ने बताए ।
उनले भने, ‘हाम्रो सङ्गठनहरू गाउँ घरतिर हुने लिँडे गोरु जस्तो भएको हुनाले परिणाम राम्रो आउन नसकेको हो । अहिलेसम्मको समीक्षा गर्दा मैँले काम गर्न सकेको छैन । हाम्रै मन्त्रालयमा हिजो बाढी गयो, मजस्तै मन्त्री मुद्दामा परिरहेका छन् । यस्तो पनि डर छ । तर इमानका साथ काम गर्ने एक पैसा दायाँबायाँ हुने गरेर कुनै काम गर्नु भएन् । त्यसैले डराउनु पर्दैन । तर मान्छेको मन त हो डर लागिहाल्छ । त्यस कारण हामीले देश, जनता, मन्त्रालयको कामको लागि र यो क्षेत्रलाई बढाउनको लागि इमानका साथ काम गरौँ ।’
कमान्डरले गल्ती गरेपछि उसलाई समाउने, मुख्य लेनदेन गर्नेलाई कारबाही गर्नुपर्ने हो । तर त्यसको पछि लाग्ने सबैलाई सजाय दिने चलन गलत भएको पनि उनको भनाइ छ ।