गाजामा इजरायली हवाई आक्रमण, ८० जनाको मृत्यु

काठमाडौं । इजरायली सेनाले गाजामा गरेको हवाई हमलामा ८० जनाको मृत्यु भएको छ ।
गाजाको उत्तर पश्चिम जबालिया क्षेत्रमा गरिएको हमलामा ५० जनाको मृत्यु भएको इन्डोनेसियाली अस्पतालले बताएको छ । मृतकमध्ये २२ बालबालिका र १५ महिला परेका छन् ।
नजिकैको अल–अव्दा अस्पतालले थप नौ जनाको शव प्राप्त गरेको छ । जसमध्ये ७ बालबालिका छन् ।
इजरायली सेनाले भने उत्तरी गाजामा हमास र प्यालेस्टिनी इस्लामिक जिहाद लडाकुहरूलाई आक्रमण गरेको दाबी गरेको छ । इजरायलतर्फ रकेट हमला भएपछि मंगलबारदेखि जबालिया र छिमेकी क्षेत्रका बासिन्दालाई क्षेत्र खाली गर्न आग्रह गरेको थियो ।
यसैबिच, संयुक्त राष्ट्र सङ्घका मानवीय सहयोग प्रमुख टोम फ्लेचरले गाजामा भइरहेको नरसंहार रोक्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का सदस्यहरूलाई तत्काल कदम चाल्न आह्वान गरेका छन् ।