गुरुकुलदेखि बोस्टनसम्म

मिलन कुमार कार्की
बोस्टन / केही समय स्वयंसेवक अनि कर्मचारीकै रूपमा किन नहोस् नाट्य स्कुल गुरुकुल छिर्दा साह्रै आनन्दित थिए । कलाकार बन्न हैसियत नभए पनि कला तथा साहित्यसँग सम्बन्धित वरिष्ठ व्यक्तिहरूसँग साह्रै नजिक हुने अवसर प्राप्त भयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवहरू आयोजना गर्दा होस् वा नाटकहरू लिएर नेपालबाहिर जाँदा नै किन नहोस् समूहको एउटा हिस्सा हुन पाउँदा धेरै खुशी थिए । गुरुकुलमा प्रदर्शन हुने नाटकहरूको टिकट बिक्री काउन्टर हुँदै छुटपुट नाटकहरूमा अनुहार पनि देखाइयो ।
नेपालबाट २००८ तिरको अन्त्यतिर अन्तर्राष्ट्रिय महोत्सव सकेर अमेरिका आउँदा धेरै तिता मिठा अनुभवसँगै नाटकको लागि केही गर्नुपर्छ भन्ने हुटहुटी लिएर आएको थिए । तर, अमेरिका आएपछि ‘सोचे झैँ जिन्दगी रहेनछ…’ भन्ने यथार्थलाई आत्मा सात गर्दै अगाडि बढिरहेको मलाई गुरुकुल बन्द भएको समाचारले स्तब्ध बनायो ।
एउटा बन्द हुँदै गर्दा अरू २/४ वटा नाटक घरहरू सञ्चालन आएको हुँदा नाट्य विधा त चलिरहेको छ त भनेर सन्तोष लिइरहेको थिए । २०१३ मा हामी गुरुकुलमा सँगै काम गरेको भिडियोग्राफर, इडिटर तथा निर्देशक सिन्धु पोखरेल परिवार सहित बोस्टनमा आउनुभयो । धेरै हामीहरूबिच धेरै छलफल भएर क्रिएटिभ कामहरू गर्नुपर्छ भनेर हामीले एक सेट क्यामेरा, कम्प्युटर सहितको सामानहरूको जोडजाड गऱ्यौं, तर उपलब्धि नगन्य भए पनि आफूले इच्छाएको काम गर्दा सन्तुष्ट नै थियौँ । त्यसको धेरै समयपछि गुरुकुलका कुलगुरु सुनिल पोखरेल एकल नाटक लिएर अमेरिका विभिन्न शहरहरू मञ्चित हुँदा बोस्टनमा पनि प्रदर्शन गरिने चाँजोपाँजो मिलाएर आनन्द लिँदै दिनहरू बित्दै थिए ।
कोभिडको शुरूवाततिर दिदी अरूणा कार्कीले अमेरिकालाई नै कर्मथलो बनाउने निर्णयले गर्नुभयो, केही आश्चर्य पनि लाग्यो, धेरै खुशी पनि, अब यतै केही नाट्य सम्बन्धी गतिविधि बढ्ला भनेर । अरूणा दिदीले विभिन्न शहरहरुमा कार्यशालाहरू चलाउँदै आउनु भएको थियो । कोभिडको महामारी सकिएपछि नाट्य निर्देशक तथा उम्दा कलाकार राजन खतिवडा दाईलाई बोस्टनमा स्वागत गर्न पाउँदा मनै प्रफुल्लित भयो । तर पनि सोचेकै तरिकाले नाट्य वा अरू कलाकारिताको गतिविधि बढ्न सकेन । सायद घर परिवार वा आर्थिकोपार्जनको बाध्यताले पनि होला ।

दिनहरू चल्दै थिए २०२४ को अन्त्यतिर सफल निर्माता, निर्देशक तथा व्यवस्थापक मणिराम पोखरेल भिनाजुलाई बोस्टनमा स्वागत गरेसँगै फेरि कलाकारिताको छलफल बढ्यो । अब सिरिजहरू भए पनि बनाउने भनेर हामी नजिकका २०/२५ जनाहरू जम्मा भएर २/३ वटा कार्यशालामा आफूले सुनेको, देखेको, भोगेको घटनाक्रमलाई जोड्दै थियौँ तर, दुईचार हप्तामा एक चोटि छलफल गर्न पनि गाह्रो।
साथीभाइ बिचको कार्यशालाबाट माथि निस्केर सबैको लागि सार्वजनिक आह्वान गरौँ भन्ने निष्कर्ष निकालेर राजन खतिवडा, अरूणा कार्की र मणिराम पोखरेलले कार्यशाला चलाउने गरी ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसी) मार्फत पाँच हप्ताको “अभिनय प्रशिक्षण” शुरू भयो । हल्लाखल्ला राम्रै भएकोले सहभागी धेरै नै हुन्छन् भन्ने उत्साहका साथ सबै जना पशुपतिनाथ बुद्ध फाउन्डेशनको भवनमा प्रशिक्षणको लागि जाँदा अलि नमज्जा भयो । अर्को एक हप्ता पनि थपिएपछि ३० जना जति भयौँ, त्यो पनि कहिले को नआउने कहिले को नभ्याउने, त्यही पनि चित्त बुझाउनु भयो ।

कार्यशाला चलिरहेको थियो मणिराम पोखरेल तथा राजन खतिवडाज्यूहरूले बिस्तारै अभिनय प्रशिक्षण सँगसँगै नाटकको तयारी गर्दै लग्नुभयो र सहभागी कलाकारहरूसँगको छलफलपछि नजिकिँदै गरेको बुद्ध जयन्तीमा प्रा.डा. अभि सुबेदीको नाटक “जीवनदेखि जीवनसम्म”लाई देखाउने निर्णय गरियो ।
तर गर्ने कसरी ? कहाँ ? भन्ने जस्ता प्रश्नहरूको थुप्रो अगाडि आएर उभियो । म नाटक हेर्न र नाटकलाई माया गर्ने मान्छे, घर परिवार र कामको चटारो त छदै छ, सबैले गरोभन्दा हुन्न, सकिदैन्, नगरौँ भन्न सकिन् । मन्दिर परिसरको भजन मण्डलीको स्टेजलाई प्रयोग गरेर नाटक देखाउनेमा सबै जना सहमत भयौँ । तर, दिनहरू जति नजिकिँदै गयो, तनाव पनि थपिँदै गयो ।

सबै कलाकारहरूले आफ्नो मेहनत गरिरहनु भएको थियो । अर्कोतर्फ आर्थिक व्यवस्थापनको जिम्मा सुनील नेपालीले सम्हाल्नु भएको थियो भने, सङ्गीतको लागि देव न्यौपानेजीले नेपालबाट सङ्कलन तथा यता राजन काफ्लेले बनाउन लागिपर्नु भएको थियो । भाग्यवश नेपालबाट एकल नाट्य महोत्सव न्यु योर्क र क्यालिफोर्नियामा सहभागी हुन वरिष्ठ नाट्य कलाकार तथा लाईट डिजाइनमा पोख्त राज कुमार पुडासैनी पनि हामीसँगै जोडिनुभयो । नाटक राम्रो बन्नेमा केही आशा पलायो ।
यसैबिच विजय कार्की नेपालबाट आउँदा नाटकको लागि चाहिने भेषभूषा लिएर आइदिनुभयो । त्यसपछि हामी सबै कलाकारहरू राजकुमार पुडासैनी, संगीत निरौला, अरूणा कार्की, निशा तिमल्सिना, प्रमिला कटुवाल, दिपा घिमिरे पोखरेल, रश्मि पहारी, अश्मी पोखरेल, सृजना पौडेल, प्रमिला धमला, निशा लामा, डोलमाया तामाङ, शान्ता थापा, बिन्दा दाहाल, राजेश थापा, दीपक खत्री, जेनिश कर्माचार्य, सोनाम शेर्पा, अमित सुनुवार, प्रचण्ड तिवारी, सुदिप शर्मा, अल्बर्ट खनाल बसेर भेषभूषा सहित पूर्वाभ्यास गरेको जम्मा एक दिन अघि, नाटक कस्तो हुन्छ भनेर निर्क्योल गर्नै गाऱ्हो भयो ।
नाटक हुने दिनसम्म पनि लाइटको कन्सुलले राम्ररी काम गरेको थिएन्, सङ्गीतको ट्र्याक बनिसकेको थिएन् र पनि आसावादी भइयो किनकि गुरुकुलका हामी छ जना यसै नाटकमा जोडिएको थियौँ । मन्दिरमा बुद्ध जयन्ती विशेष विविध कार्यक्रमहरू तथा भजन कीर्तन पछि नाटक हुने भयो । करिब दुई सय दर्शकका बिच नाटक शुरू भयो । धेरैजसोले पहिलो पटक नाटक हेरिरहेका थिए भने केही गुरुकुल हुँदाका दर्शकहरू पनि थिए ।
नाटकले यसरी बाँध्यो कि बालबच्चाहरू लगायत सबै दर्शक शान्त भएर कलाकारको सानो बोलिपनि सबै सुनिन्थ्यो । नाटक कल्पना गरेको भन्दा धेरै राम्रो भयो । नाटक सकियो ! दर्शकहरूको वाहवाहीले सबै कलाकारहरू हर्ष विभोर भएका थिए, आँखाहरू रसाएका थिए, दर्शकहरूको पनि र कलाकारहरूको पनि । खुशी साट्न नपाउँदै आ-आफ्नोतिर लागियो । त्यो रात खुशीमै बित्यो । हामी एक अर्काका फोनहरू बजि नै रह्यो । बिहानै देखि अरू स्टेटका साथीहरूले यस नाटकलाई हाम्रो शहरमा पनि प्रदर्शन गरिदिनुपऱ्यो, ल्याईदिनुपऱ्यो भन्दा कलाकारहरू झन् उत्साहित हुनुहुन्छ । हामी नेपालीहरूले गर्व गर्न सक्ने हाम्रो कला संस्कृतिहरू धेरै अमूल्य छ, यसै मध्ये नाटक पनि एक हो । नाटक एक अभियान हो, हामीले बोस्टनबाट पनि थालनी गऱ्यौ । यसको निरन्तरताका लागि तपाईँहरूसँग सहकार्य अनन्तकालसम्म हुने नै छ ।
फोटो : सिन्धु पोखरेल