एनआरएनए अभियन्ता डा. केशव पौडेले मागे माफी
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका पूर्व अध्यक्ष डा. केशव पौडेलले आफ्ना शुभेच्छुक सँग माफी मागेका छन्।
सर्वोच्च अदालतको परमादेशबाट गठित शेष घले उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा शुरुमा अध्यक्षको दाबी गरेका पौडेलले पछि उपाध्यक्षमा मनोनयन दाखिल गरेका थिए।
तर ६ पदका लागि आठ जनाको उम्मेदवारी परे पछि पौडेलले आफ्नो नाम फिर्ता लिएका थिए।
पौडेलको उम्मेदवारी फिर्ता प्रति विभिन्न अड्कल भइरहेको समय उनले सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
‘एनआरएनए उच्चस्तरीय समितिद्वारा आह्वान गरिएको एकताको महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै सफलतापूर्वक सम्पन्न भएको छ। नवनिर्वाचित अध्यक्ष महेश श्रेष्ठ लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना।’ पौडेलले लेखेका छन्, ‘ म जहिले पनि एकताबद्ध एनआरएनएको पक्षमा रहँदै आएको छु। त्यसैले मैले यस पटक कुनै पनि पदमा नरहेर बाहिरबाटै सहयोग गर्ने निधो गरेँ।’
उनले आफ्नो निर्णयबाट शुभेच्छुकहरू निरास भएको र त्यस प्रति क्षमामाचना गरेका छन्।
‘यसबाट मलाई सघाउनकै लागि विभिन्न मुलुकबाट आउनु भएका मित्रहरू निराश हुनु भएको छ। म यसका लागि क्षमायाचना गर्दछु र, उहाँहरू सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।’
पौडेलले आफू एनआरएनएको एकताकै पक्षमा सक्रिय रहने बताएका छन्।
‘आउँदा दिनमा पनि एकताबद्ध एनआरएनए अभियानको लागि क्रियाशील रही रहने विश्वास दिलाउन चाहन्छु।’ पौडेले भनेका छन्।