निरङ्कुश राजतन्त्र फर्काउने सपना देख्नेहरुविरुद्ध मजदुर वर्ग लाग्नुपर्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरङ्कुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक र असहिष्णु प्रवृत्ति बोक्नेहरू सक्रिय भएकाले तिनका विरुद्ध खबरदारी गर्न मजदुर वर्गलाई आग्रह गरेका छन् ।
बिहीबार एक सय ३६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक परिवर्तन र सचेतनाका लागि योगदान दिने मजदुर वर्गलाई एकताबद्ध भएर सही र महान् उद्देश्य प्राप्तिमा गतिशील हुन आग्रह गरेका हुन् ।
उनले भने,‘फालिएको राजतन्त्र पक्षधरहरूको अराजकता गत चैत १५ को तीनकुने–हिंसात्मक र दानवीय घटनामा स्पष्ट देखिएको छ । उनीहरूको प्रशंसा नगर्ने कलाकारको फिल्म नहेर्नेजस्ता असहिष्णु व्यवहार गर्ने राजतन्त्रवादीहरुले फेरि फर्कने कुचेष्टा गरिरहेका छन्।’
प्रधानमन्त्री ओलीले शान्ति कायम गर्न उभिएका प्रहरीमाथि गाडी लिएर किच्न जान्छन् भने त्यस्ताहरूको हातमा शासन सत्ता पुगेमा के गर्लान् भन्ने प्रश्न उब्जिएको बताए।
‘उनीहरुले हाम्रो सभ्यता र संस्कृतिमा चुनौती दिएका छन् । हामीले त्यस्तालाई जवाफ दिन सक्नुपर्छ । यसमा श्रमजीवी विगतमा झैँ वर्ग सचेत हुनुपर्छ । समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा लिएर सुनौलो भविष्य बोकेर हिँडेका छौँ ।’
‘हामीले रगत पसिना बगाएर ल्याएको लोकतान्त्रिक प्रणालीको रक्षा गर्छौँ । हाम्रो झन्डा ख्याल ख्यालमा रातो भएको होइन, मजदुरहरूले शान्तिपूर्ण र न्यायपूर्ण समाजका लागि लाग्दा गोली खाएर ढल्दाखेरि सेतो झन्डामा रगत लतपतिएकाले रातो भएको हो ।’ प्रधानमन्त्री ओलीले भने, ‘बलिदानबाट निस्किएका झन्डाहरू राता हुन्छन् । हाम्रो देशको झन्डामा पनि रातो रंग रहेको छ । हामी संघर्षको गाथा झल्काउने झन्डा छोड्ने छैनौँ ।’