सर्वसाधारण विनाको सार्वजनिक सुनुवाइ

काठमाडौँ/ सार्वजनिक सेवा प्रवाहका नाममा आयोजना गरिने सार्वजनिक सुनुवाइका कार्यक्रमहरूमा प्रायः राजनीतिक दलका प्रतिनिधिहरूलाई मात्र आमन्त्रण गर्ने गरिएको पाइएको छ।
हालै नागार्जुन नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइमा पनि यस्तै प्रवृत्ति देखियो।
वैशाख ५ गते शनिवार आयोजित उक्त कार्यक्रमका लागि जारी गरिएको सूचनामा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीलाई मात्र सम्बोधन गरिएको थियो। कार्यवाहक नगर प्रमुख सुशीला अधिकारीद्वारा हस्ताक्षरित उक्त सूचनाले अन्य सरोकारवालाहरूको सहभागितालाई सीमित गरेको देखिन्छ।
उक्त कार्यक्रममा राजनीतिक कार्यकर्ताहरूको उपस्थिति बाक्लो थियो। तर, कार्यवाहक नगर प्रमुखले सम्बोधन गर्ने क्रममा उनकै पार्टीका कार्यकर्ताहरू पनि कार्यक्रम स्थलबाट बाहिरिएको देखियो, जसका कारण अधिकांश कुर्सीहरू रित्ता थिए। सार्वजनिक सुनुवाइका नाममा हुने यस्ता कार्यक्रमहरूको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ।
यसै सन्दर्भमा, नेकपा एमालेका तर्फबाट नागार्जुन नगरपालिकाका मेयरका उम्मेदवार रहेका सडानन्द गौतमले नागरिकहरूले सार्वजनिक सुनुवाइमा आफ्ना कुरा राखेर हिँड्नुभन्दा आधिकारिक व्यक्तिको भनाइ सुन्न बस्नुपर्ने तर्क गरेका थिए।
कार्यक्रममा सहभागी विभिन्न व्यक्तिहरूले सार्वजनिक सेवा प्रवाहमा उठेका सवालहरूमाथि छलफल गरेका थिए। विशेष गरी नागार्जुन नगरपालिका वडा नम्बर ६ मा निर्माणाधीन गणेशमान पार्कको विषयमा आवाज उठेको थियो।
यद्यपि उक्त पार्कको विषयमा उच्च अदालत पाटनमा मुद्दा विचाराधीन छ, तैपनि सार्वजनिक सुनुवाइको क्रममा यसले उल्लेख्य समय पायो। कार्यक्रममा सार्वजनिक यातायात प्रवाह लगायतका विषयमा पनि छलफल भएको थियो।