अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ गठन

Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धन गर्न स्थापना गरिएको आप्रवासी नेपाली गीतकार संघ अमेरिका अब “अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ” (आइएनएलए) को रूपमा आधिकारिक रूपमा कार्यान्वयनमा आएको छ। संस्थाले मिति २०२५ अप्रिल २८ देखि नयाँ स्वरूपमा अघि बढ्ने घोषणा गरेको हो।
संस्थाका चार पदाधिकारीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन्।
अध्यक्ष हरि उप्रेती, उपाध्यक्ष शेखर ढुङ्गेल , महासचिव रन खड्का,मिडिया प्रवक्ता अर्जुन प्रधानले विज्ञप्ति जारी गरेका हुन्।
सन् २०२३ मा अमेरिकामा स्थापना गरिएको संघले प्रारम्भमा प्रवासी नेपाली गीतकारहरूलाई लक्षित गरे पनि, अहिले विश्वभर फैलिएका सर्जकहरूलाई समेट्दै अन्तर्राष्ट्रिय कार्यक्षेत्र बनाउने निर्णय लिएको हो।
संघले गीत लेखन प्रशिक्षण कार्यक्रम, करिब ५२ जना गीतकारहरूको संयुक्त गीति संग्रह “नेपाली मूल प्रतिको फूल”, र आइएनएलए ज्ञानेन्द्र गदाल गीत सम्मान जस्ता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ। उक्त सम्मान पहिलो पटक वरिष्ठ गीतकार नीर शाहलाई प्रदान गरिएको थियो।
संघले आफ्नो पहिलो साधारण सभामा आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गर्दै संस्थालाई सुदृढ बनाउने रणनीति अघि सारेको हो।
संस्थाका संस्थापक अध्यक्ष हरि उप्रेतीले नेपाली भाषा र साहित्यमा नागरिकता नजोडिने बताए।
“नेपाली भाषा र साहित्य हाम्रो मौलिक पहिचान हो, जुन नागरिकता होइन, आत्मासँग गाँसिएको अमूल्य सम्पत्ति हो।‘उप्रेतीले भने, ‘यसको संरक्षण र प्रवर्द्धन हरेक नेपाली भाषीको कर्तव्य हो।”
उनले विश्वभर रहेका नेपाली सर्जकहरूलाई एकै थलोमा आबद्ध भई भाषिक र सांस्कृतिक एकताको सशक्त अभियानमा सहभागी हुन आग्रह गरेका छन्।
संयुक्त नेतृत्वमा प्रकाशित विज्ञप्तिमा भनिएको छ ‘आइएनएलए अब विश्वभर रहेका नेपाली गीतकारहरूको साझा संस्था बनाउँदै भाषा-साहित्यको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा अग्रसर हुनेछ।‘
‘अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (आइएलएलए) को यो आधिकारिक घोषणा नेपाली गीत-साहित्यमा एक ऐतिहासिक मोड हो। यो अभियानले नेपाली भाषाको विश्वव्यापी सशक्तीकरणमा दूरगामी प्रभाव पार्ने विश्वास गरिएको छ।‘विज्ञप्तिमा भनिएको छ।