मेरिल्यान्डमा भव्य मनायो बिशु पर्व
मेरिल्याण्ड, बाल्टिमोर/ अमेरिकाको मेरिल्याण्ड राज्यमा बिशु पर्व भव्यरुपमा मनाइएको छ।
सुदूरपश्चिम समाज मेरिल्यान्डको आयोजनामा बिशु पर्व २०८२ को अवसरमा टिमोनियम स्थित मीडोवुड रिजनल पार्कमा शनिवार सांस्कृतिक कार्यक्रम सहित बिशु पर्व मनाइएको हो।
बिशु पर्व नेपालको सुदूरपश्चिम क्षेत्रको प्रमुख मध्येको पर्व हो। पछिल्ला समय नेपालका अन्य भागमा पनि बिशु पर्व मनाउने गरिन्छ।
यसै क्रममा मेरिल्याण्डको विभिन्न क्षेत्रमा रहेका सुदूरपश्चिमेलीहरुले एक ठाउँमा भेल भएर बिशु पर्व मनाएका हुन्। बिशु पर्व मनाउन नेपालका अन्य क्षेत्रबाट आइ मेरिल्याण्डमा बसोबास गरिरहेकाहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा देउडा, गीत–संगीत, नृत्य लगायतका विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएका थिए। यस्तै सुदूरपश्चिमी परिकार खुवाउँदै अतिथिहरूको सम्मान गरिएको थियो।
‘हामी विश्वको जुन ठाउँमा पुगे पनि आफ्नो संस्कृति र संस्कार बिर्सन सक्दैनौ, त्यसलाई बचाउन हामीले कार्यक्रम गरेका हौ।’ सुदूरपश्चिम समाज मेरिल्यान्डका अध्यक्ष विक्रम शाहीले भने।
उनले नयाँ पुस्तामा आफ्नो मौलिकता स्थानान्तरण गर्न पनि यस्ता कार्यक्रमहरु उपयोगी हुने बताए। ‘हाम्रा कयौँ यस्ता मौलिकता छ, त्यसले समाजलाई जोड्छ, हामी सामूहिक जीवन शैलीबाट आएका हौ र त्यसको महत्त्व कति छ भन्ने कुराको सन्देश दिन पनि यस्ता कार्यक्रममा सहयोग गर्छ।’ अध्यक्ष शाहीले भने।
उनले कार्यक्रम तीन पुस्ताको सम्मिश्रण भएको पनि बताए। ‘कार्यक्रममा उपस्थित हुने जोकोहीले पनि अनुभव गर्ने कुरा हो, हामी तीन पुस्ता एक ठाउँमा भेला भएर रमायौ, यसले हाम्रो समाजलाई पनि स्वस्थ बनाउँछ।’ अध्यक्ष शाहीले भने, ‘पाका पुस्तालाई पनि विदेशमा हामी एक्लै छैनौ है, हाम्रो संस्कृति मरेको छैन है भन्ने भाव जगाउँछ र नयाँ पुस्तालाई पनि हामी को हौ, हाम्रो जरा के हो भन्ने सिकाउँछ।‘
यस्तै प्रमुख अतिथि बाल्टिमोर एसोसिएसन अफ नेपालिज इन अमेरिका (बाना) का अध्यक्ष सुबोध विलास पन्तले विदेशमा पनि आफ्नो संस्कृति जोगाउन सकेको भन्दै आयोजकको प्रशंसा गरे।
उनले यस्ता कार्यक्रममा सबैले निरन्तरता दिनु पर्नेमा जोड दिए।
कार्यक्रममा बाल्टिमोर सिटी मेयरको आप्रवासी मामिला कार्यालयका उपनिर्देशक मासुमा इस्लाम लोन्जाक, बाल्टिमोर काउन्टी कार्यालयका काउन्टी कार्यकारी क्याथी क्लाउस्मेयरका भाषा पहुँच संयोजक यान मा, डेलिगेट ह्यारी भण्डारी, बानाका नवनिर्वाचित अध्यक्ष जीतेन गुरुङ लगायतको उपस्थिति रहेको थियो।
बाना अध्यक्ष पन्तलाई सम्मान
सोही कार्यक्रममा बानाका अध्यक्ष पन्तलाई विषेश सम्मान गरिएको थियो। बानामा लामो समय सम्म रहेर नेपाली समाजलाई उलेख्य योगदान गरेको भन्दै पन्तलाई दोसल्ला ओढाएर कदर पत्र सहित सम्मान गरिएको हो।
‘उहाँले झन्डै एक दशक बानामा रहेर नेपाली समाजका लागि सेवा गर्नु भएको छ। अमेरिकामा यो एउटा विरलै घटनाको जसले यति लामो समय समुदायलाई सर्भिस दियो, यस्ता व्यक्तिलाई कदर गर्यौ भने अरूलाई पनि प्रेरणा मिल्छ।’ सम्मानको कारण खुलाउँदै सुदूरपश्चिम समाजका अध्यक्ष शाहीले भने।
पन्त बानाको अध्यक्षको रुपमा दुई पुरा गर्दै छन्। उनले आफ्नो कार्यकालमा बानालाई निकै सक्रिय र व्यस्त बनाएका छन्।
बानाले बालबालिकालाई नेपाली भाषा र नृत्य कक्षा, युवाहरूका लागि फुटबल र भलिबल सहितका खेलकुद प्रतियोगिता क्यालेन्डर सहित नियमित आयोजना गर्दै आएको छ। यसै गरी ज्येष्ठ नागरिकहरूका लागि बाना सँग बा आमा कार्यक्रम पनि आयोजना गर्दै आएको छ।
सडक महोत्सव, विभिन्न चाडपर्वहरूमा पनि बानाले गतिविधि गर्ने गरेको छ।
सुदूरपश्चिम समाजको सम्मानले आफूलाई कुनै न कुनै रुपमा समाज सेवामा नै रहन प्रेरित गरेको बाना अध्यक्ष पन्तले बताए।
फोटो सौजन्य : आयोजक