राष्ट्रपतिलाई निम्तो दिने टोलीमा शेष घले किन गएनन्?
ल्यानक्यास्टर,पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्च स्तरीय कमिटीले मे ३-५ तारिख सम्म महाधिवेशनको मिति तय गरेको छ।
सर्वोच्च अदालतको गत मार्चको परमादेशमा एनआरएनएका पूर्व अध्यक्ष शेष घलेको नेतृत्वमा १३ सदस्यीय कमिटी बनाइ एक महिना भित्र बैठक बसी ६ महिना भित्र नयाँ चुनाव गराउन भनिएको थियो।
परमादेशमा विवाद समाधान गर्न पनि भनिएको छ र सर्वसम्मत नभए बहुमतको आधारमा निर्णय गर्न अधिकार दिइएको छ। तोकिएको समयमा शेष घलेले जिम्मेवारी पुरा गर्न नसके त्यस पछि उपेन्द्र महतोको पालो आउँछ।
परमादेश पछि नै डा. बद्री केसी समूह शेष घलेलाई कुनै पनि बहानामा सफल हुन नदिने रणनीतिमा थियो। यति सम्मकी सर्वोच्च अदालतले बनाएको समितिको एउटा पनि बैठकमा केसी उपस्थित भएका छैनन्।
घले काठमाडौँमा पुग्ने सबै एनआरएनए सदस्य डेलिगेट हुन पाउने र भौतिक रुपमा नै मतदान गर्ने चुनावको पक्षमा छन्। तर त्यसको ठिक उल्टो डा. केसी अनलाइनबाट भोटिङ गर्ने पक्षमा छन्। यसको वकालत उनको टिमका उपाध्यक्ष डा. हेमराज शर्मा हुन्।
शुरुमा शेष घलेको समितिलाई चिन्दिन भनेका केसीले सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयको पत्र पछि टोन फेरेका हुन्। उनले विभिन्न देशमा रहेका राष्ट्रिय समितिको अधिवेशन र चुनाव जुलाईमा मात्र सम्पन हुने भएकाले आफूहरूले निर्धारण गरे अनुसार अक्टोबर नै अन्तर्राष्ट्रिय समन्वय परिषद् आइसीसीको अधिवेशन गर्नु पर्ने अडानमा छन्।
शेष घलेले अदालतको परमादेश आफूले मान्नु पर्ने बताए पछि, केसीले परराष्ट्र मन्त्रालयले महान्याधिवक्ताको कार्यालय मार्फत अनुरोध गरेमा सर्वोच्चले चुनाव सार्ने जिकिर गर्दै आएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको विषेश पहलमा परराष्ट्र मन्त्रालयले मन्त्री स्तरीय निर्णय अनुसार सर्वोच्चमा चुनाव सार्न पत्र लेख्यो। तर केसीले भने जस्तो सर्वोच्चले चुनाव सार्न कुनै अन्तरिम आदेश दिएन। बरु एनआरएन सम्बन्धित तीन वटा मुद्दाका मिशिल झिकाउन भन्यो। त्यस पछि केसी फेरि आफै अर्को मुद्दा दायर गर्न पुगे।
केसीले शुक्रवार मुद्दा दायर गरेकोमा आइतबार नै पालो पाए तर न्यायाधीशले अन्तरिम आदेश दिएनन्। सबै मुद्दालाई सोमवार एकै साथ राख्न आदेश दिए। सोमवार हेर्न नमिल्ने भयो। त्यो भनेको एनआरएनएको मुद्दामा यस अगाडि नै हेरेका न्यायाधीश दोहोरिन नहुने हो। अब मंगलवार के हुन्छ त्यसका लागि कुर्नु पर्ने हुन्छ।
शुरुमा शेष घले नेतृत्वको समिति नै बहिस्कार गर्दे आएका केसी अहिले जसरी पनि चुनाव सार्ने पक्षमा छन्। रात रहे अग्राठ पलाए भने झैँ उनी नेपाली कांग्रेसका हरेक नेताको घर दैलोमा पुगेका छन्। रोचक कुरा के छ भने यस अगाडि एनआरएनएका अभियन्ताहरू नेताको घर दैलोमा जाँदा चर्को आलोचना गर्ने बेलायत निवासी डा. हेमराज शर्मा अहिले घरदैलो अभियानको कमान्डर छन्।
नेताको घर दैलोमा जाने कुरामा घले समूह निकै पछाडि देखिएको छ। यही बेला घले नेतृत्वको उच्चस्तरीय समितिको फेसबुक पेजमा मंगलवार बिहान एउटा फोटो पोस्ट भएको छ। र त्यहाँ लेखिएको छ, ’एनआरएनए उच्चस्तरीय समितिका सदस्यहरूले सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल ज्युलाई मे ३-५को अधिवेशन समुद्घाटन गरिदिन निमन्त्रणा पत्र हस्तान्तरण गर्नु भएको छ ।‘
यहाँ गम्भीर प्रश्न उठ्छ। केसी समूह जुनसुकै हालतमा घले समितिले गराउने महाधिवेशन रोक्न लागिपरेको छ। सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । नेताको घर दैलो गरेको छ । महाधिवेशन रोक्न भन्दै एनआरएनएका पूर्व अध्यक्षहरूबाट एक पछि अर्को गर्दै विज्ञप्ति आएका छन्। अदालतबाट के निर्णय आउँछ अझै निश्चित छैन।
कदम कदाचित अदालतले चुनाव रोकेन भने घले समितिले गराउने महाधिवेशनमा सरकारको उपस्थिति नहोस् भन्नका लागि केसी समूहले अग्रिम तयारी गरेको छ। यस्तो स्थितिमा राष्ट्रपतिलाई प्रमुख अतिथिको निम्तो दिन जाने टोलीमा शेष घले अनुपस्थित छन्। किन ?
यही प्रश्न समाज टाइम्सले सार्वजनिक फोटोमा राष्ट्रपति सँगै उभिएका उच्चस्तरीय समितिका सदस्य बेलायत निवासी कुल आचार्यलाई सोधेको थियो।
आचार्यले यो फोटो पुरानो भएको बनाए। ‘हामीले अलिक अगाडि नै राष्ट्रपतिलाई भेटेर निम्तो दिएका थियौ, त्यो समय शेष घले नेपाल बाहिर हुनुहुन्थ्यो।’ उनले भने।
तर घले नेतृत्वको उच्चस्तरीय समितिको तर्फबाट पत्रकारहरूलाई नियमित रुपमा समाचार तथा सूचना पठाउने गरिएको इमेलमा भने राष्ट्रपति सँग सोमबार भेटघाट भएको उल्लेख छ।
‘गैर आवासीय नेपाली संघ (एनआरएनए) को यही वैशाख २० देखि २२ गतेसम्म (मे ३-५, २०२५) काठमाडौँमा हुन गइरहेको एकता महाधिवेशनको उद्घाटन गरी दिन एनआरएनए उच्चस्तरीय समितिका सदस्यहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर निम्तो दिएका छन्। सोमबार बिहान राष्ट्रपति कार्यालयमा भेटेर उनीहरूले निम्तो दिएका हुन्।‘ समाज टाइम्सलाई प्राप्त इमेलमा भनिएको छ।
यसै गरि फोटोमा एनआरएनए अमेरिकामा पूर्वअध्यक्ष बुद्धि सागर सुवेदी पनि छन्। सुवेदी दुई दिन अगाडि मात्र काठमाडौ पुगेका हुन्।
शेष घलले नेपालमा दलका नेता तथा सरकार प्रमुखहरूलाई नटेर्ने गरेको आरोप लाग्दै आएको छ। राष्ट्रपतिलाई निम्तो दिन जान पनि उनले पुरानै स्वभाव दोहोर्याएका त होइन भन्ने प्रश्न उठेको छ।