एनआरएनए अमेरिकाले बाढ्यो १६ हजार डलरको छात्रवृत्ति, छनौटको प्रक्रिया कति पारदर्शी !

ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले १६ हजार डलरको छात्रवृत्ति वितरण गरेको छ।
एनआरएनए अमेरिकाकाले शनिवार भर्चुअलमा आयोजित एक कार्यक्रमबिचमा सन् २०२५ का लागि छात्रवृत्ति पाउने १६ जना विद्यार्थीको नाम सार्वजनिक गरेको हो।
एनआरएनए अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडे, वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, महासचिव रामहरि अधिकारी लगायतका पदाधिकारीको उपस्थितिमा विद्यार्थीको नाम घोषणा गरिएको हो।
घोषणा कार्यक्रममा अध्यक्ष डा. बन्जाडेले छात्रवृत्ति एनआरएनए अमेरिकाले गर्ने गरेको मध्य महत्त्वपूर्ण काम भएको बताए।
‘युवा र विद्यार्थी सम्म एनआरएनए पुग्ने पुग्ने माध्यम हो।‘ कार्यक्रममा बन्जाडेले भने, ‘रकम ठूलो होइन तर यो महत्त्व पूर्ण छ, यसले विद्यार्थीलाई अरू छात्रवृत्ति ल्याउन सहयोग गर्छ।‘
एनआरएनए अमेरिका अन्तर्गत युवा, विद्यार्थी तथा खेलकुद विभागले छात्रवृत्ति वितरण गर्दै आएको हो।
कार्यक्रममा एनआरएनए अमेरिकाका युवा उपाध्यक्ष तथा विभागका प्रमुख अनुप खनालले छात्रवृत्तिका लागि छुट्टै कमिटी गठन गरिएको र उनीहरुले स्वतन्त्र पूर्वक काम गरेको बताए।
‘यो कमिटीले स्वतन्त्र रुपमा तीन सय ३४ जनाको आवेदन आएकोमा १६ जनाको नाम छान्न पक्कै पनि सजिलो थिएन होला, उहाँहरूले जुन स्वतन्त्र रुपमा विना रोक तोक छनोट गर्नु भयो त्यसका लागि उहाँहरूलाई धन्यवाद।‘खनालले भने।
खनालका अनुसार डा. दीप महतो, डा. निर्जल सापकोटा, सुमना दुवाडी र प्रेम सुवेदीको टोलीले छात्रवृत्ति पाउने विद्यार्थीको नाम छनोट गरेको हो।
‘यो एउटा छात्रवृत्ति मात्र होइन यसले विद्यार्थीलाई एनआरएनए प्रति संलग्न पनि गराउँछ।‘ खनालले भने, एनआरएनएले युवा विद्यार्थीलाई के गर्छ समाजका लागि के गर्छ भन्ने पनि हो।‘
एनआरएनए अमेरिकाका युवा कोअडिनेटर तेज पौडेलले भौतिक रुपमा युवा सम्मेलन हुन नसकेको र त्यसका लागि छुट्टाइएको बजेट छात्रवृत्तिमा खर्च गरिएको बताए। अघिल्लो वर्ष आठ जनालाई छात्रवृत्ति दिइएको थियो।
कार्यक्रममा एनआरएनए अमेरिकाका महासचिव रामहरि अधिकारीले एनआरएनए विद्यार्थीहरू सँग जोडिने माध्यमको रुपमा छात्रवृत्ति रहेको बताए।
‘रकम ठूलो नहोला नेपाली समुदायको तपाईँहरू पनि अभिन्न सदस्य हो, तपाईँहरू सँग जोडिएर भविष्यमा काम गर्न सकौँ भन्नका लागि हो।‘ महासचिव अधिकारीले भने।
यस्तै एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष विकास उप्रेतीले छनोट समितिलाई सफलता पूर्वक काम गर्न सकेकोमा बधाई दिए।
‘अहिले काम गर्न गाह्रो छ, यो अवस्थामा तपाईँहरूले निष्पक्ष रुपमा काम गर्नु भएको भन्ने हाम्रो विश्वास छ।’ उप्रेतीले भने।
एनआरएनए अमेरिकाका उपाध्यक्ष भानु खरेलले छात्रवृत्ति छनोटको काम सफलता पूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिए। यस्तै महिला उपाध्यक्ष सुनिता कँडेलले यस पटक धेरै विद्यार्थीलाई छात्रवृत्ति दिएकोमा खुसी व्यक्त गरिन्।
यस्तै एनआरएनए अमेरिकाका कोषाध्यक्ष सरोज सिग्देलले युथ, विद्यार्थी तथा खेलकुद विभागले राम्रो काम गरेको बताए।
‘नयाँ पुस्तालाई जोड्ने धारणाबाट कार्यक्रम गरिएको हो, युथ विभागबाट आएका सबै कार्यक्रमलाई कार्यसमितिले पारित गरेको छ।‘ कोषाध्यक्ष सिग्देलले भने।
उनले छात्रवृत्तिले नयाँ विद्यार्थीलाई आर्थिक सहयोग भएको बताए। कोषाध्यक्ष सिग्देलले छात्रवृत्तिका लागि विद्यार्थी छनौट समितिलाई आफूहरूले कुनै दबाब नदिएको प्रस्टाए।
यस्तै मिडवेस्टका आरसिसी महेन्द्र बस्नेतले छात्रवृत्ति एनआरएनए एनसीसी अमेरिकाकै महत्त्वपूर्ण कार्यक्रम भएको बताए। ‘पैसा थोरै भए पनि दोस्रो पुस्तालाई जोड्न यसले महत्त्वपूर्ण भूमिका खेल्ने छ।‘ बस्नेतले भने।
छनौट समितिका संयोजक डा. निर्जल सापकोटाले आफूहरूलाई स्वतन्त्र पूर्वक काम गर्न दिइएको बताए।
‘हामीले सकेको गर्यो, तीन सय ३४ जनामा ६२ जना विद्यार्थीहरूले ४.० जिपिए ल्याएका रहेछन्, हामीले समग्रमा हेर्यौ ।‘ डा. सापकोटाले भने, ‘हामीले शैक्षिक प्रदर्शन, नयाँ पुराना र भविष्यको क्षमता हेर्यौ र उनीहरूको बायोडाटा हेर्यौ।‘
उनले क्षेत्रगत रुपमा पनि आफूहरूले पनि सन्तुलन मिलाइएको बताए।
छात्रवृत्ति विजेता विद्यार्थीहरूको सूची
अन्जिला देशमारु – युनिभर्सिटी अफ साउथ डाकोटा
बिधत्री अमात्य – युनिभर्सिटी अफ सिन्सिनाटी
प्रथम राज भुजेल – युनिभर्सिटी अफ विस्कन्सिन–ग्रीन बे
आयुषा पोखरेल – बार्नार्ड कलेज अफ कोलम्बिया युनिभर्सिटी
प्रजिता श्रेष्ठ – युनिभर्सिटी अफ मेरिल्याण्ड , बाल्टिमोर काउन्टी
रुशिल निधि नेपाल – युनिभर्सिटी अफ रोड आइल्याण्ड
दिवस पन्त – युनिभर्सिटी अफ बफेलो
मनोज बगाले – फिक्स युनिभर्सिटी
शुभांशु पोखरेल – युनिभर्सिटी अफ केन्टकी
प्रभिन बजगाईँ – युनिभर्सिटी अफ साउथन मिसिसिप्पी
सुस्मा लम्साल – टेक्सस स्टेट युनिभर्सिटी
एलिना दाहाल – युनिभर्सिटी अफ लुइजियाना
रमिका पाण्डे – फिक्स युनिभर्सिटी
मौसहम बिष्ट – ब्रिघम यंग युनिभर्सिटी-आइडाहो
अनुभव अधिकारी – द कलेज अफ आइडाहो
अञ्जलि कार्की – युनिभर्सिटी अफ आइडाहो