विदेश जानेहरूलाई ड्राइभिङ सिकाउँदै प्रेम
सुरेश कुमार सुवेदी
काठमाडौँ/अमेरिका जान तयारी गरिरहेकी छिमेकी बहिनी गाडी चलाउन सिक्न चाहन्थिन । ड्राइभिङ सिकाउने ठाउँ खोज्दै थिइन् । लकडाउनको अवसरमा कहाँ जाने ?
सैनिक जीवनबाट भर्खरै अवकाश भएका प्रेम पनि आफ्नो बोलेर गाडी हेरेर टोलाइ रहेका थिए । बाहिर लान नसकेर घरमै थन्काएर बसिरहेका थिए ।
त्यत्तिकैमा उनीहरुले घरमा बसिरहेको गाडीबाट सिक्ने योजना बनाए । भित्री सडकमा एक जना बहिनीलाई चलाउन सिकाउँदै सुरु गरे । अरूले पनि सिक्न थाले । एक जना बहिनीलाई ड्राइभिङ सिकाउन शुरू गरेको काम अहिले गज्जबको पेशा भएको छ ।
विशेष गरी, लकडाउनको बेला सेवा निवृत्त भएर बसेका प्रेम मानन्धर अब के गर्ने होला भन्ने सोच्दै थिए उनीसँगै जागिरबाट अवकाश भएकाहरू कोही कतार मलेसिया वा दुवै जाँदै थिए । तर उनलाई भने अब के गर्ने होला? भन्ने अन्योल थपियो । प्रेमले अलमललाई अवसरमा बदले । विदेश जानेहरूलाई ड्राइभिङ सिकाउने काम शुरू गरेर । पहिले त धेरै संघर्ष गरे । ट्रायलका लागि ठाउँ थिएन । ‘बाहिरै गर्नु पर्थ्यो’ प्रेमले भने ।
अवकाशपछि सृजनात्मक काम
कतिपय अवस्थामा अवकाशपछि मानिसहरू जाँड, रक्सी तथा जुवा तासमा भूलेका देखिन्छन् सत्र वर्ष नेपाली सेनामा ड्राइभिङ गरेका प्रेम आफ्नो पेशालाइ सम्मान गर्छन् । अहिले प्रेमले आफ्नो अवकाशको जीवनलाई प्रेम पूर्ण ढङ्गबाट बिताइरहेका छन् । देश विदेशबाट माया र सम्मान पाइरहेका छन् । विदेश जान चाहनेहरूलाई ड्राइभिङ सिकाएर ।
उनले अमेरिका जाने छिमेकी बहिनीलाई सिकाएको यो सीप अरूलाई पनि उपयोगी भयो । छिमेकबाट अरू पनि विदेश जाँदै थिए । तिनीहरूले घर नजिकै चिने जानेकोसँग सिक्ने अवसर पाए । लकडाउनको समयमा उनले एक दुई जना हुँदै दर्जनौँ छिमेकीहरूलाई सडकमै सवारी चलाउन सिकाए । यत्तिकैमा उनलाई गाडी चलाउने स्कुल खोल्न मन लाग्यो । अनि नाम जुराए ‘भूप सैनिक ड्राइभिङ इन्स्टिच्युट’ । उनीसँग ड्राइभिङ इन्स्टिच्युटमा सिकेर विदेश जानेहरू धेरै छन् प्रायः अमेरिका, अस्ट्रेलिया, युके, क्यानडा, फ्रान्स र जापान जानेहरू धेरै हुने प्रेम बताउँछन् ।
पछिल्लो समय उनले विदेश जाने युवा युवतीहरूको साथै अन्य पेसाकर्मीहरूलाई पनि गाडी सिकाउने गरेका छन् । थेरै बेल्ने धेरै काम गर्ने स्वभावका प्रेम ड्राइभिङ जस्ता अत्यावश्यक सिप सिकाउन पाउँदा खुसी देखिन्छन् । सबैले गुरु भन्दा सम्मान गरेका महशुस हुने प्रेमको अनुभव छ । ‘सिनियरके पनि गुरु बनेकै छु’ प्रेम भन्छन् ।
प्रेमसँग हाल दुई रोपनी भन्दा बढी क्षेत्रमा फैलिएको ट्रायल गराउन मिल्ने ठाउँ छ । यस्तै दुई वटा कार तीनवटा स्कुटर र थप तीनवटा मोटरसाइकलहरू छन् । उनको इन्स्टिच्युटमा ड्राइभिङ सिक्नेहरू प्रशस्तै भेटिन्छन् । सेनामा रहँदा ड्राइभिङ सेवा गरेका उनी जुनसुकै सवारी साधनमा पनि सिकाउने क्षमता राख्छन् । ड्राइभिङमा लामे अनुभव भएका कारण पनि प्रेम सिक्नेहरूलाई प्रेमपूर्वक सिकाउँदछन् ।
प्रेमलाई यस काममा उनका परिवारले पनि पूरा सहयोग गरेका छन् । बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म आफ्नै ड्राइभिङ इन्स्टिच्युटमा हुन्छन् । उनलाई यस इन्स्टिच्युटले अवकाश पछिको सक्रिय र स्वस्थ जीवन मात्र होइन सामाजिक सम्मान पनि दिएको छ । साथै शिक्षाप्रद समय बिताउन महत्त्वपूर्ण अवसर पनि ।