जेठको दोस्रो हप्तासम्म राजावादी अभियानको टुङ्गो लाग्छ : डा.गुरुङ
काठमाडौँ । नेपाल ऋषि प्राज्ञ डा.जगमान गुरुङले राजावादीहरूको अभियानको अन्तिम टुङ्गो जेठको दोस्रो हप्तासम्म लाग्ने बताएका छन् ।
बुधबार काठमाडौँमा आयोजित राष्ट्र निर्माणको लागि युवा प्रतिबद्धता नामक कार्यक्रममा बोल्दै उनले राजा र जनताको बीचमा अरू कुनै निकाय र दल नहुने कुरा बुझ्न जरुरी रहेको बताए ।
उनले भने, ‘राजा र जनताको बीचमा अरू कुनै निकाय छैन, त्यहाँ कुनै दल नै छैन । त्यो कुरा हामीले बुझ्नुपर्छ । अब जेठको दोस्रो हप्तासम्म धैर्य गर्नुहोस् । हाम्रो आन्दोलन सफल हुन्छ । हाम्रो अभियानको अन्तिम टुङ्गो जेठको दोस्रो हप्तामा हुने छ ।’
यस्तै, उनले देशमा नेतृत्वकर्ताहरू अहङ्कार पालेर बस्ने, युवाहरूको कुरा सुन्न नचाहने बुढाहरू रहेको भन्दै अब देश धान्ने दायित्व युवाहरूको भएको बताए ।
उनले भने, ‘अब यो देश धान्ने दायित्व युवाहरूको हो । तर हामी बुढाहरू कस्ता छौँ त ? अहङ्कार पालेर बस्ने, बोलायो मञ्च चाहिने, मन्तव्य चाहिने फ्लोरमा बसेर युवाहरूको कुरा सुन्न नचाहने त्यस्ता बुढाहरू छन् । त्यस कारणले युवाहरू अगाडि जाग्नुपर्छ ।’
त्यस्तै, उनले राजाले पनि सार्वभौम सत्तालाई मनेर शासन गर्नुपर्ने भन्दै सार्वभौम सत्ताको सदुपयोग गर्ने दायित्व पनि राजाको नै रहेको बताए ।
‘राजाले पनि सार्वभौम सत्तालाई मनेर शासन गर्नुपर्छ र सार्वभौम सत्ताको सदुपयोग गर्ने दायित्व राजाको हो भन्ने परम्परामा हामी हुर्केका छौँ । त्यसैले राजाले जनतालाई मान्ने,जनताले राजालाई मान्ने हो । त्यसैले यसको बीचमा अरू केही छैन ।’ उनले भने