प्रचण्डको अभिव्यक्तिप्रति एमालेको आपत्ति, सात कम्युनिष्ट योद्धालाई सम्मान गरिने
काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठकले पार्टीको आन्तरिक जीवनसँग र केही राष्ट्रिय राजनीतिसँग जोडिएका विषयहरूमा छलफल गरेको छ ।
सोमबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले वैशाख ९ गते आफ्नो पार्टी स्थापनाका दिन सात जनालाई यो वर्षको कम्युनिष्ट योद्धा सम्मानबाट सम्मानित गरिने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
‘बैठकमा केही पार्टीको आन्तरिक जीवनसँग जोडिएका र केही राष्ट्रिय राजनीतिसँग जोडिएका विषयहरूमा छलफल गरेका छौँ । आगामी वैशाख ९ गते पार्टी स्थापनाको ७६ वर्षगाँठ सम्पन्न भएर ७७ औँ वर्षगाँठलाई भव्य रुपमा मनाउने तयारी गरेका छौँ ।’ ज्ञावलीले भने, ‘त्यसमार्फत नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ ऊर्जा, शक्ति, सामर्थ्य र नयाँ दिशाका साथ अगाडि बढाउने हामीले सङ्कल्प गर्ने छौँ ।’
उनले विगत वर्षमा जस्तै हामीले कम्युनिष्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याउने केही विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिष्ट योद्धाको हिसाबले सम्मान गर्ने निर्णय बैठकले गरेको जानकारी दिए।
त्यसअन्तर्गत लालबहादुर विश्वकर्मा कञ्चनपुर, रत्न शर्मा न्यौपाने जाजरकोट, शोभाराम बस्नेत दाङ, वाचस्पति देवकोटा गोरखा, शान्ता मानवी काठमाडौँ, सत्यनारायण मण्डल सप्तरी र हरिशरण सिवाकोटी झापालाई यो वर्षको कम्युनिष्ट योद्धा सम्मानबाट सम्मानित गरिने निर्णय भएको छ।
साथै माओवादी अध्यक्ष प्रचण्डले आइतबार चितवनमा नयाँ वर्षसँगै सरकार फेरिने भनेर दिएको अभिव्यक्ति एमालेले खारेज गरेको छ ।
ज्ञवालीले भने, ‘प्रचण्डले फेरि सरकार परिवर्तनको हल्ला गरिरहनुभएको छ । यो सरकार बाहिर हुँदाको एक खालको कुण्ठा र पीडा बोध प्रकट हुन्छ । अहिले सरकार परिवर्तन न कतैबाट सम्भव र सान्दर्भिकता छ न औचित्य छ । राष्ट्रिय राजनीतिको अरू यावत् कुरा छाडेर सरकार परिवर्तनको कुरा मात्र गर्नु भनेको सत्ता मोह बाहेक अरू केही पनि होइन । त्यसले भ्रम सिर्जना गर्ने कोसिस भएको छ त्यसलाई हामीले खण्डन गरेका छौँ ।’
अझै ‘बेटर पर्फर्मेन्स’ का लागि सरकारलाई भनिरहेको भन्दै उनले थपे, ‘केही कमीकमजोरीलाई आधार मानेर कोही व्यवस्था नै पल्टाउन कोसिस गर्ने अर्का थरी सरकार परिवर्तनको ध्यानमा मात्र जाने अस्थिरताका प्रयत्न हुन् ती गलत हुन् । सफल हुँदैनन् ।’