क्यालिफोर्नियामा नयाँ वर्ष मेला, तयारी पुरा
क्यालिफोर्निया/ अमेरिकाको क्यालिफोर्निया राज्यमा विक्रम सम्वत अनुसारको नयाँ वर्ष २०८२ उपलक्षमा मेला लाग्ने भएको छ।
मेला अप्रिल १३ तारिख आइतबार मध्यान्ह १२ देखि राती ८ बजेसम्म मेला चल्नेछ।
नेपाली एशोसियन अफ नर्दन क्यालिफोर्निया (न्यान्स)ले शुक्रवार साँझ पत्रकार सम्मेलन गर्दै मेलाको सबै तयारी पुरा भएको जनाएको छ।
‘नेपाली नयाँ वर्षको अवसर पारेर यो पटक क्यालिफोर्निया सानफन्सिस्को बेएरिया क्षेत्रमा ‘प्रथम नयाँ वर्ष मेला २०८२’ आयोजना गरिएको जानकारी गराउन चाहन्छौ।’ न्यासका अध्यक्ष प्रतेश कार्कीले भर्चुअल पत्रकार सम्मेलनमा भने।
‘ठूलो संख्यामा नेपालीको बसोबास रहेको यो क्षेत्रमा नेपाली मौलिक कला संस्कृति र परम्पराको संरक्षणसँगै नेपालीका स्वामित्वका व्यवसाय र नेपालीमुलका व्यवसायीको प्रवर्धन गर्ने उद्देश्यले यस्तो मेला गर्न लागिएको हो।’ उनले मेलाको बारेमा थप प्रस्टाए।
मेला यस क्षेत्रमा क्रियाशील विभिन्न नेपाली संघ संस्थासँगको समन्वयमा नेपाली एशोसियन अफ नर्दन क्यालिफोर्निया (न्यान्स)ले गर्न लागेको जनाइएको छ।
‘मेलाका विषयलाई समुदायका विभिन्न उमेर समूहका व्यक्ति र तप्काले देखाउनुभएको चासोले हामीलाई निकै उत्साही बनाएको छ। मेलामा सबै उमेर समूहका लागि लक्षित विभिन्न आकर्षण छन्।’ पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ।
अघिल्ला वर्षहरूमा न्यान्सले भेटघाट र मनोरञ्जनका हिसाबले पिकनिक गर्दै आएको र यस वर्ष यस क्षेत्रमा आफ्नै सामुदायिक भवन खरिद गरिसकेको परिप्रेक्षमा नयाँ वर्षलाई नयाँ ढङ्गले मनाउन प्रयत्न गरिएको जनाइएको छ।
‘हामी भूगोलका आधारमा टाढा रहेपनि भावनात्मक रुपमा नेपाली परम्परा, भाषा, संस्कृति र परिकारबाट टाढा रहन सक्दैनौँ। यही सोचमा आधारित भएर मेलामा हामीले विभिन्न खालका गतिविधिमार्फत अविस्मरणीय प्याकेज पस्किने गरी विभिन्न कार्यक्रम तय गरका छौ।’ पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले भने।
मेलामा नेपाली पहिचान र परम्परा झल्किने विभिन्न परिकारका ३ फुड ट्रकसहितका कुल ६ वटा फुड स्टल रहनेछ। सेल रोटीदेखि सेकुवासम्म र नेवारी छोइला, ममदेखि बोबा ड्रिङ्ससम्मका स्टल मेलामा रहनेछन् ।
त्यसै गरी नेपाली उत्पादनका पोषाक एवं जुत्ता, नेपाली विभिन्न खाद्य वस्तु, नेपालीले पुर्याउँदै आएका घरजग्गा कारोबार परामर्श सेवा, मनी ट्रान्सफर सेवा, ज्योतिष परामर्शलगायतका २० भन्दा बढी स्टल र बालबालिकाका लागि विभिन्न खेल, डिजे र फोटोग्राफी मेलाका प्रमुख आकर्षण हुनेछन्।
मेला अवधि अर्थात् दिनभर विभिन्न धार्मिक र मौलिक भजन, योगा, नृत्य, गायन तथा साहित्यिक कार्यक्रमसमेत सञ्चालन हुने जनाइएको छ। मेलामा २५ भन्दा बढी राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूका प्रस्तुति रहनेछन्। अतिथि कलाकारका रुपमा पप गायिका नलीना चित्रकारका विशेष प्रस्तुति रहनेछ। विभिन्न चरणका राफल चिट्ठासमेत सञ्चालन गरिने विजेताका लागि आकर्षक पुसकारसमेत राखिएको छ।
मेलामा आउँने फुड ट्रक, खाना तथा अन्य नेपाली बस्तु र उत्पादनका स्टल, प्रस्तुति दिन कलाकार, साहित्यिक प्रस्तुतिसमेत छनौट सार्वजनिक सूचनामार्फत आह्वान गरिएको जनाइएको छ।
‘यो विशेष कार्यक्रम बेएरियामा बसोबास गर्ने सम्पूर्ण व्यक्ति र सङ्घसंस्थाबिच हातेमालोबाट मात्रै सफल र भव्य बन्नेछ। यसका लागि पत्रकारमार्फत हामी आम बेएरियावासी नेपालीहरूमा मेलामा सहभागी भइदिन हार्दिक आमन्त्रण गर्दछौ।’ आयोजकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मेलालाई भव्य, व्यवस्थित र सफल पार्दै नयाँ वर्ष २०८२लाई विशेष स्वागत गर्न सबैसँग आग्रह गछौ।’
कार्यक्रम स्थलको सरसफाइ, मेलामा उपस्थित जनसमुदायको बसाई एवं लाइन व्यवस्थापनसहितका विविध कामका लागि २ दर्जन भन्दा बढी स्वयंसेवक मेला स्थल र पार्किङस्थलाई तालिम प्राप्त सुरक्षा गार्डबाट सुरक्षा प्रदान गरिने जनाइएको छ।
सार्वजनिक यातायात वाट वा बसबाट वरपरका स्टेसनसम्म आइपुगेका आगन्तुकलाई कार्यक्रम स्थलसम्म आउन आवश्यकताको आधारमा गाडी सुविधासमेत दिनसक्नेगरी तयारी गरिएको आयोजकको भनाइ छ।
‘सामुदायिक भवन खरिद अभियानमा टेवा पुराउन छुट्नु भएका वा अभियानमा यसअघि नै सहयोग गरेर पनि त्यसलाई बढाउन चाहाने दाताहरूलाई लक्षित गरेर बेग्लै सहयोग सङ्कलन काउन्टरसमेत राखिने जानकारी गराउँछौ। नेपाली नयाँ वर्षलाई कम्युनिटी सेन्टर र समुदायका हितमा दान गरेर सुरुवात गर्न चाहनेहरूलाई लागि दिनभरै सहयोग हस्तान्तरण र सम्मानको कार्यक्रम गरिनेछ।’ विज्ञप्तिमा उल्लेख छ।
‘माइलौँ टाढाको कर्मभूमिमा बसेर पनि नेपाली संस्कृति, परम्परा, पोषाक र परिकारसँग हामी नजिक छौ। यस्ता कुरामा हाम्रा सन्ततिको पनि उत्तिकै भावनात्मक प्रेम रहोस् भन्ने सबैको चाहना हुन्छ।’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हाम्रा सन्ततिलाई हाम्रो पहिचान देखाउने, मौलिकता सिकाउने र नेपालीत्वसँग साक्षात्कार गराउने यो भूमिमा यति वृहत् अवसर हतपती जुट्दैन।’
कार्यक्रममा प्रवेश निःशुल्क रहने जनाइएको छ।