बाल्टिमोरमा नेपालीको घरबाट ८० हजार डलर बराबरको चोरी
मेरिल्याण्ड, बाल्टिमोर/ नेपालीहरूको बाक्लो बसोबास रहेको अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर स्थित पेरीहलमा एक महिना दुई चोरीका घटना भएका छन्।
बिहीबार मात्र पेरीहल हाइस्कूलको नजिक रहेको एक नेपालीको घरबाट ८० हजार अमेरिकी डलर मूल्य बराबरको सामान चोरी भएको जनाइएको छ।
बाल्टिमोर एसोसिएसन अफ नेपाली इन अमेरिका (बाना) का नवनिर्वाचित अध्यक्ष जीतेन्द्र (जीतेन) गुरुङका अनुसार बिहीबार मध्यान्न १२ बजे तिर चोरी भएको हो।
‘रोलेक्स घडी, सुन र नगद सबै चोरी भएको भन्ने छ जसको मूल्य ८० हजार अमेरिकी डलर हुन आउँछ।’ अध्यक्ष गुरुङले समाज टाइम्स सँग भने।
चोरी भएको घरका मालिका तनहुँ जिल्लाका हुन्।
पेरीहलमा एक महिना भित्र नेपालीको घरमा चोरी भएको यो दोस्रो घटना हो । यस अगाडि एक नेपाली महिलाको घरमा पनि चोरी भएको थियो। त्यो बेला पनि पैसा र सुन गरेर करिब ८० हजार डलर बराबरको चोरी भएको बाना अध्यक्ष गुरुङको भनाई छ।
‘त्यो बेला सिसी टिभी क्यामरामा नै फुटेज देखिएको थियो, पुलिसलाई रिपोर्ट गरे पनि चोर समातिएन, त्यो समय राती चोरी भएको थियो अहिले त दिउसै लगे ।’ अध्यक्ष गुरुङले भने।
‘घरका परिवारका सबै सदस्य काममा गएको बेला ब्याक र्यार्डबाट घर फोरेर चोरी गरिएको देखिन्छ।’उनले भने।
अध्यक्ष गुरुङले घरमा सुन चाँदी र नगद नराख्न पनि आग्रह गरेका छन्।