एनआरएनए खेलकुद प्रतिष्ठान प्राविधिक समितिको बैठक
काठमाडौँ/ गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् बद्री केसी समूह खेलकुद प्रतिष्ठान प्राविधिक समितिको बैठक सम्पन्न भएको छ ।
बैठकले समितिको आगामी कार्ययोजना तय गर्नुका साथै आगामी २०८२ जेठ महिनामा कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने गैर आवासीय नेपाली खेलाडीहरूको छनौट कार्य यही २०८२ वैशाख २ गते खेलकुद प्रतिष्ठानको सचिवालय बालुवाटारमा गर्ने निर्णय भएको छ ।
यसरी नै संघको पूर्व निर्धारित योजना अनुरूप संघले राष्ट्रिय खेलकुद प्रतियोगिताका १८ वटा विभिन्न खेल विधामा सहभागिता जनाउनका लागी आवश्यक प्राविधिक तयारीका कार्यहरू द्रुत गतिमा अगाडी बढाउने समेत निर्णय गरेको छ ।
गैर आवासीय नेपाली संघका अध्यक्ष तथा खेलकुद प्रतिष्ठानका संरक्षक डा बद्री केसी र संघका युवा संयोजक तथा खेलकुद प्रतिष्ठानका सदस्य सचिव सुपेन्द्र घिसिङको उपस्थितिमा प्राविधिक समितिको बैठकमा संघका अध्यक्ष तथा खेलकुद प्रतिष्ठानका संरक्षक डा बद्री केसीले नवनियुक्त प्राविधिक समितिका सदस्यहरूलाई नियुक्ति पत्र समेत प्रदान गरे।
उक्त कार्यक्रममा संघका युवा संयोजक तथा खेलकुद प्रतिष्ठानका सदस्य सचिव सुपेन्द्र घिसिङले आगामी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा दोश्रो पुस्ताका गैर आवासीय नेपाली खेलाडीहरूले विभिन्न खेलहरूमा सहभागी भई बढी भन्दा बढी पदक हासिल गर्ने विश्वास व्यक्त गरे। यसका लागि संघको राष्ट्रिय समन्वय परिषदहरु तथा सरोकारवाला निकायहरू सँग सहकार्यका लागि समेत अनुरोध गरे ।
संघका अध्यक्ष तथा खेलकुद प्रतिष्ठानका संरक्षक डा बद्री केसीले बैठकमा आफ्नो समापन मन्तव्य राख्दै खेलकुदका माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो पहिचान बनाउन सहयोग पुग्ने भएकोले १०औँ राष्ट्रिय खेलकुदमा संघले प्रभावकारी ढङ्गबाट सहभागिता जनाई सफलता हासिल गर्नु पर्ने कुरा व्यक्त गरे। यस प्रकारको सहभागिताले आगामी दिनमा नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा समेत सहभागीताका लागि सहयोग पुग्ने बताए ।
बैठकमा गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानका प्राविधिक समितिका संयोजक लगायत सदस्यहरू तथा दशौं खेलकुद सहभागिता तयारी समितिका सदस्यहरू र संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको सहभागिता रहेको थियो ।