नेपालका प्रधानमन्त्री ओली र भुटानी प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

बैँकक / थाइल्यान्डमा भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच बिहीबार बैँककमा भेटवार्ता भएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री ओलीसँग भुटानका प्रधानमन्त्री तोब्गेसँग साइडलाइट भेटवार्ता भएको हो ।
उनीहरूबिच गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभाका क्रममा न्यु योर्क भएको भेटको स्मरणका साथै सहकार्यका विविध पक्षमा छलफल भएको थियो ।
भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
अमेरिकाले डिपोर्ट गरेका नेपाली भाषी भुटान भारत, भुटान हुँदै पुन नेपालमा पुगिरहेको समयमा दुई देशका प्रधानमन्त्री बीचमा यो भेटघाट भएको हो।
सन् १९९० मा जातीय सफाय गर्दै झन्डै एक लाख नेपाली भाषी भुटानी लखेटिएका थिए। उनीहरू भारत हुँदै नेपालमा आए पछि शरणार्थीको रुपमा झन्डै दुई दशक पूर्वी नेपालमा बसेका थिए।
पछि संयुक्त राष्ट्र संघको पहलमा तेस्रो देश पुनर्वास अन्तर्गत पटक पटक गरी करिब एक लाख नेपाली भाषी भुटानी अमेरिकामा आएका छन्।
शरणार्थीको हैसियतमा अमेरिका आएका तीनै नेपाली भाषी मध्ये १८ जनालाई अहिले अमेरिकाले देश निकाला गरेका छन्। अमेरिकाबाट निकालामा परेकाहरू भारत हुँदै भुटान पुगेका थिए। भुटानबाट उनीहरू फेरि भारत हुँदै नेपाल पुगे पछि त्यस मध्ये चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपालकै शरणार्थी शिविरमा अझै ६ हजार नेपाली भाषी भुटानीहरू रहेका छन्। यस्तो अवस्थामा दुई देशका प्रधानमन्त्री बिचमा भेटवार्ता भएको हो।
भेटमा शरणार्थीका विषय प्रवेश भए नभए बताइएको छैन।
समाज टाइम्सको जिज्ञासामा प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा सँगै रहेका पत्रकार तथा प्रधानमन्त्रीको सचिवालयका सञ्चार संयोजक प्रकाश सिलवालले यस बारेमा बुझेर जवाफ दिने बताए।