अमेरिकी उपसहायक रक्षामन्त्रीद्वारा नेपाली सेनाको प्रशंसा

Getting your Trinity Audio player ready...
|
वासिङ्गटन डिसी/ अमेरिकी उपसहायक रक्षामन्त्री डा. एन्ड्रयू बायर्सले नेपाली सेनाको कार्यक्षमताको प्रशंसा गरेका छन्।
दुई सय ६२ औ नेपाली सेना दिवसको उपलक्ष्यमा बुधवार अमेरिकाको वासिङ्गटन डिसी स्थित नेपाली दूतावासमा आयोजित कार्यक्रमका प्रमुख अतिथिको रुपमा मन्तव्य दिँदै दक्षिण तथा दक्षिण पूर्व एशियाका लागि अमेरिकी उपसहायक रक्षामन्त्री डा. एन्ड्रयू बायर्स नेपाली सेनाको व्यवसायीक क्षमताको चर्चा गरे।
उनले विश्वमा नै शान्ति कायम गर्न नेपाली सेनाको भूमिका उल्लेख रहेको बताए। बायर्सले नेपाली सेना र अमेरिकी सेनाबीचको लामो समयदेखिको सम्बन्धको प्रशंसा गरे।
कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले नेपाली सेनाले राष्ट्र निर्माणमा दिँदै आएको योगदानको बारेमा चर्चा गरेका थिए।
राजदूत रेग्मीले प्राकृतिक प्रकोप र दुर्गम क्षेत्रमा विकास निर्माणमा नेपाली सेनाको भूमिका बारेमा पनि प्रस्टाएका थिए। यस्तै नेपाली सेनाको क्षमता विकासमा अमेरिकाबाट हुँदै आएको सहयोगको बारेमा पनि राजदूत रेग्मीले प्रस्टाएका थिए।
नेपाल-अमेरिका सम्बन्ध र सहयोगलाई उजागर गर्दै उनले अमेरिकी सेनालाई नेपाली सेनाले निरन्तर सहयोग र सहकार्य गरेकोमा कृतज्ञता पनि व्यक्त गरे।
नेपालको दौत्य सम्बन्ध रहेका २५ भन्दा बढी देशका रक्षा र सैन्य सहचारीहरूको उपस्थिति रहेको कार्यक्रममा रक्षा तथा सैनिक सहचारी महासेनानी पूर्णप्रसाद ढकालले स्वागत मन्तव्यका क्रममा नेपाली सेनाको इतिहास र वर्तमान कार्यक्षमताका बारे प्रस्टाएका थिए। उनले कठिन समयमा नेपालको रक्षा गर्न नेपाली सेनाको महत्वपूर्ण योगदानलाई जोड दिए।
कार्यक्रममा नेपाली सेनाको तर्फबाट राजदूत रेग्मीले अमेरिकी उपसहायक रक्षामन्त्री बायर्सलाई ‘खुकुरी’ उपहार दिएका थिए।
नेपालमा नेपाली सेनाले शिव रात्रिका दिन आफ्नो स्थापना दिवस मनाउँदै आएको छ।
कार्यक्रमका थप तस्बिरहरु ….