दोस्रो हिमालयन ओपन तेक्वान्दो च्याम्पियनसिपको मिति सार्वजनिक

Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ दोस्रो हिमालयन ओपन तेक्वान्दो च्याम्पियनसिपको मिति सार्वजनिक भएको छ।
हिमालयन तेक्वान्दो ह्यारिसबर्गको आयोजना सन् २०२३ मा पहिलो हिमालयन ओपन तेक्वान्दो च्याम्पियनसिप भएको थियो।
‘सेप्टेम्बर १३ तारिख पालमेरा हाईस्कूलको हलमा हामीले च्याम्पियनसिप आयोजना गर्ने निर्णय गर्यौ।‘ हिमालयन तेक्वान्दो ह्यारिसबर्गका संचालक तथा मुख्य प्रशिक्षक नकुल शर्माले भने।
मार्च २३ तारिख हिमालयन तेक्वान्दो ह्यारिसबर्गमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपको मिति सार्वजनिक गरिएको हो।
‘ब्रेकिङ, स्पाइरिङ्ग र पुम्से गरी तीन इभेन्टमा प्रतिस्पर्धा हुन्छ, एउटा खेलाडीले दुई इभेन्टमा भाग लिन पाउने व्यवस्था हामीले गरेका छौ।‘ शर्माले भने, ‘अहिले हामीले मिति घोषणा गरेका हौ बाँकी थप विवरण हामी पछि सार्वजनिक गर्छौ।‘
मुख्य प्रशिक्षक शर्माले दुई महिना भित्रमा अनलाइनबाटै दर्ता मिल्ने व्यवस्था मिलाइने बताए। उनले पहिलो च्याम्पियनसिप भन्दा धेरै सहभागी हुने अपेक्षा गरेको पनि बताए।
‘२०२३ मा चार सय २८ खेलाडी सहभागी थिए, दोस्रो संस्करणमा त्यो भन्दा धेरै खेलाडी सहभागी हुन्छन् र च्याम्पियनसिप पनि भव्य बनाउने भन्ने हाम्रो लक्ष्य छ।‘ शर्माले भने।
उनले च्याम्पियनसिपबाट बचेको रकम मध्ये केही हिमालयन केयर फाउन्डेशनको कोषमा जम्मा हुने बताए।
‘हामीले हिमालयन केयर फाउन्डेशन स्थापना गरेका छौ, यसको मुख्य उद्देश्य भनेको सम्भावना बोकेका खेलाडीलाई ठुला प्रतियोगितामा सहभागी गराउँदा आर्थिक सहयोग गर्नु रहने छ।‘ शर्माले भने।
हिमालयन तेक्वान्दो ह्यारिसबर्ग पेन्सिल्भेनियामा नेपाली भाषी समुदायमा स्थापित पहिलो तेक्वान्दो स्कुल हो। यो सन् २०१८मा स्थापना भएको हो।