अमेरिकामा ठगीको आरोपमा दुई भारतीय विद्यार्थी देश निकालामा

Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया/ अमेरिकामा ठगीमा सक्रिय दुई भारतीय विद्यार्थी देश निकालामा परेका छन्।
पेन्सिल्भेनिया राज्यको लेबनान काउन्टीमा एक दम्पतीलाई २४ हजार डलर ठगी गरेको आरोपमा उनीहरू दोषी ठहरिए पछि देश निकालाको सजाय सुनाइएको हो। अदालतले बुधवार सजाय सुनाएको हो।
देश निकालको सूचीमा पर्ने भारतीय विद्यार्थीमा २३ वर्षीय दिग्विजयसिंह चौहान र २६ वर्षीय हेमल पटेल रहेका छन्। उनीहरुले बैक खाता ह्याक भएको भन्दै ठगी गरेको जनाइएको छ।
भारतीय विद्यार्थीले पीडितलाई इमेल पठाइ आफूहरूलाई फोन गर्न भनेका थिए। पीडितले फोन गर्दा उनीहरूको बैंक खाता ह्याक भएको भन्दै यसलाई सुरक्षित राख्न पैसा निकाल्नु आवश्यक भएको बताएका थिए।
दम्पतीले शङ्कास्पद मान्दै आफू ठगिनु अगाडी प्रहरीलाई खबर गर्दै, उनीहरुले भनेको ठाउँ ह्यारिसबर्गको बिटकोइन मेसिनमा पैसा जम्मा गरेका थिए। सोही समयमा नगद लिन आएका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ।
चोरी र षड्यन्त्रको आरोपमा ती भारतीय दुई युवालाई बुधबार अदालत उपस्थित गराइएको थियो। अब उनीहरूलाई भारत फर्काइने जनाइएको छ।
दुवै प्रतिवादीका वकिलहरूले भने कि उनीहरू कानुनी रूपमा विद्यार्थी भिसामा देशमा थिए तर अब भारत फर्कनु पर्छ।