‘आफू र आफ्नालाई जोगाउन मात्रै राजनीति नगरौँ’
काठमाडौँ / राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो र आफ्नालाई जोगाउनका लागि मात्रै राजनीति नगर्न सुझाव दिएका छन् ।
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठकमा शुक्रवार बोल्दै उनले कुनै पनि कानुनी आपराधिक गतिविधिबाट आफू र आफ्ना मान्छेलाई जोगाउन राजनीति गर्ने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिएका हुन् ।
“हामी नसच्चिने हो भने गणतन्त्र र लोकतन्त्रको अस्तित्व सङ्कटमा पर्नेछ । देशको अस्तित्व बचाउनका लागि हामी राजनीतिक व्यक्तिले देश र जनताको लागि राजनीति गरौँ । आफ्नो र आफ्नालाई जोगाउन मात्रै राजनीतिक नगरौँ ।” केसीले भने।
उनले राजनीतिक दलका नेताद्वारा घोषित एजेण्डाको प्रभावकारी कार्यान्वयन गर्न नसक्दा जनताले विश्वास गर्न छाडेको बताए । जनताले सोचेअनुरुपको समृद्धि हुन नसकेको बताउँदै उनले राजनीतिक व्यवस्था सदृढ गर्न जनताको विश्वास दिलाउने गरी काम गर्न सुझाव दिए ।
“अनि अहिले अध्यादेश ल्याउनुको कारण भूमिहीन जनतालाई जग्गा दिन हो ? खेतीयोग्य जग्गामा घर बनेका छन् । करोडौँ खर्च गरेर विदेश गएका छन् । घरहरु खाली छन् । यसको समस्या कसरी समाधान हुन्छ ?” उनले प्रश्न गरे।
सरकारको संरक्षणमा सहकारीमार्फत ठगी भइरहेको बताउँदै उनले सहकारीले ठगेका पैसा जसरी पनि जनतालाई दिलाउनुपर्नेमा केसीले जोड दिए।
“लोकतन्त्र तथा गणतन्त्रका लागि लड्यौँ । तर जनतालाई त्यसपछि के के दियौ त ? त्यही महँगी होइन ?” केसीले भने।