न्यु योर्कमा ल्होसारका लागि वैकल्पिक साइड पार्किङ नियम निलम्बन

न्यु योर्क/ न्यु योर्क सिटी काउन्सिलले ल्होसार पर्वको दिनमा वैकल्पिक साइड पार्किङ नियम निलम्बन गर्ने भएको छ। कोरियाली मूलका काउन्सिल सदस्य जुली वोनले दर्ता गरेको विधेयकमा सिटी काउन्सिलबाट सर्वसम्मत पारित भए पछि हिमाली समुदायको प्रमुख चाड ल्होसार (नयाँ वर्ष) पनि न्यु योर्क सिटीको वैकल्पिक साइड पार्किङ चाडको रूपमा सूचीकृत हुन पुगेको छ।
न्यु योर्क शहरको फोहोर मैला प्रबन्ध विभागले दैनिक सरसफाइ गर्दाका क्रममा सडकमा पार्क गरेका गाडीहरू हटाउनु पर्ने नियम छ । तर अब देखि लोसारको पहिलो दिनमा सडकमा पार्क गरेको गाडी हटाउने झन्झट नभएको हुनाले ढुक्कै सँग गाडी पार्क गरेर ल्होसार मनाउन पाउने भएको छ।
सिटी काउन्सिलको बैठक पछि काउन्सिल सदस्य जुली वोन र हिमाली समुदायले सिटी काउन्सिलको प्राङ्गणमा ऐतिहासिक विजयोत्सव र्यालीको आयोजना गरेको थियो। धेरै परिषद् सदस्यहरूका साथमा लोसार मनाउने समुदायका करिब दुई सय सदस्यहरू यस ऐतिहासिक उत्सवमा उपस्थित थिए।
उपस्थित हिमाली समुदायलाई सम्बोधन गर्दै काउन्सिल सदस्य जुली वोनले भने। “न्यु योर्क सिटीमा नेपाल, तिब्बत, भुटान, मङ्गोलिया, भारत, र अन्य देशहरूबाट आएका बौद्धहरूका लागि पहिलो र एक मात्र एएसपी छुट्टी हो। मेरो डिस्ट्रिक्ट र न्यु योर्क शहर भरिका ६१,००० भन्दा बढी न्यु योर्कवासीहरूले तिब्बती बौद्ध नयाँ वर्ष लोसार मनाउँछन्। यो ऐतिहासिक बिल तिब्बती र हिमाली समुदायको लागि पहिलो र विशिष्ट एएसपी चाड हो। हाम्रो तिब्बती र हिमाली समुदायको लागि यो बिल कोसे ढुङ्गा पनि हो। हिमाली समुदाय सँग ल्होसार मनाउन पाउँदा र उनीहरूको संस्कृति सम्मान गर्न पाउँदा मलाई गर्वको अनुभूति भएको छ।”
कार्यक्रममा सिटी काउन्सिल यातायात समितिका अध्यक्ष सेलभिना ब्रुक्स पावर, भारतीय मूलका पहिलो काउन्सिल मेम्बर शेकर कृष्नन, काउन्सिल मेम्बर नार्सिस मर्सिडिस्, काउन्सिल मेम्बर, लिन्डा ली, लगायत नेपाली, तिब्बती र अन्य हिमाली समुदायका प्रतिनिधिहरू गेशे टाशी दोर्जे, एकाम्पनी क्यापिटलका कार्यकारी निर्देशक याङ्की छिरिङ, दोखाम क्षुशी गाङड्रुकका अध्यक्ष नोर्बु ल्हामो, न्यु योर्क न्यु जर्सी तिब्बती समुदायका अध्यक्ष नुर्बु छोजुङ, शेर्पा किदुगका महासचिव साङ दोर्जे शेर्पा, गुरुङ तमु समाजका अध्यक्ष ओम गुरुङ र भुटानीज कम्युनिटीका अध्यक्ष उलप लेकी, एनएसएसपीका अध्यक्ष दालामु शेर्पाले पनि सम्बोधन गरेका थिए।

तिब्बती सांस्कृतिक मामला सम्बन्धी निर्देशक डोल्मा रिन्जिनले परम पावन दलाई लामा र तिब्बती निर्वासित सरकारका सन्देश पढेर सुनाएका थिए। कार्यक्रममा हिमाली सिंह नाच र तिब्बती परम्परागत नामतर गाना प्रस्तुत गरिएको थियो ।
यो लोसार विधेयक (इन्ट्रो -१००) लाई काउन्सिल मेम्बर जुली वन सहित कूल ४० सह-प्रायोजकहरुको व्यापक समर्थन रहेको थियो । जसमा न्यु योर्कका पाँच बोरोहरू मध्ये क्वीन्स, ब्रुकलिन, र म्यानहट्टन बोरो अध्यक्षहरूका ३७ काउन्सिल सदस्यहरू रहेका छन्। जनवरी २३ मा भएको नगर परिषद्को बैठकमा उपस्थित ४८ जना सदस्यहरूको सर्वसम्मतिबाट यो बिल पारित भएको थियो ।
न्यु योर्कको शेर्पा किदुग लगायता संघ संस्थाहरूले सन् २०१७ देखि लोसार चाडलाई पहिचान दिलाउने अभियान थालेका थिए।
हिमाली चन्द्र पात्रोको पहिलो दिन देखि १५ दिन सम्म मनाइने ल्होसार हिमाली समुदायको प्रमुख चाड हो। हर्ष र उल्लासको वातावरणमा नयाँ वर्षको शुभारम्भ गर्ने पर्व हो । ल्होसार पहिलो दिन परम्परागत रूपमा घरमै बसेर परिवारसँग रमाइलो वातावरणमा मनाइन्छ । दोस्रो दिनदेखि १५ दिन सम्म गुम्बामा गई शान्ति पूजा गर्ने, ठुलाबडा र मान्यजनहरू सँग भेटेर आशीर्वाद ग्रहण गर्ने र एक अर्कामा शुभकामना र कोशेली साटासाट गर्ने गर्दछन् । चाडको पुरै अवधि भोज भतेर, नाचगान र मनोरञ्जनमा बित्दछ । यस वर्षको लोसार फेब्रुअरी २८ को दिन परेको छ।