एमसीसी पारित गर्दा धेरै विरोधहरू भए, अहिले राम्रो रहेछ भनेर बुझेका छन् : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हाम्रो देश भारत र चीनको बिचमा रहेकाले नेपालमा समेत धेरै कुरामा असर पर्ने गरेको बताएका छन्। बुधबार नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठी कार्यक्रममा बोल्दै उनले एमसीसी पास गर्ने बेलामा धेरै विरोध भए पनि अहिले आएर सबैले त्यो साँच्चिकै नै राम्रो छ भन्ने लागेको बताए ।
उनले भने, ‘हाम्रो देश भारत र चीनको बिचमा छ । यी दुई देशमा परेको असर हाम्रो देशमा नि पर्छ । तर अहिले चाहिँ एमसीसी पास गर्ने बेलामा र प्रतिनिधिसभाबाट पारित गर्ने क्रममा धेरै विरोधहरू भएँ । तर अहिले आएर सबैले साँच्चिकै राम्रो रहेछ यो एमसीसी भनेर बुझेका छन् ।’
यसै गरी उक्त कार्यक्रममा बोल्दै पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले राज्यले देशलाई विकासमा परिवर्तन गर्न इच्छा शक्ति बढी राख्नुपर्ने बताएका छन् । उनले उत्तर दक्षिण मित्र राष्ट्रहरूसँगको सम उन्नतिसँग लाभान्वित हुनुपर्ने र विकास निर्माणमा भइरहेको ढिलाइ बारे गहन रूपमा छलफल गर्नुपर्ने बताए ।
उनले भने, ‘हामीले आफूले गरेको परियोजनाहरू बाहेक यस्तो छलफलहरूमा खुलेरै छलफल गर्दा हामीले धेरै सम्झिनुपर्ने कुरा छ । उत्तरी मित्र राष्ट्र कुनै कम्पनीले निर्माण गरिरहेको बुटवल देखी भैरहवाको र बुटवल देखी नारायणगढ सडकको खुलेर छलफल पर्नुपर्छ । तर पूर्वाधारहरू सहयोगको सन्दर्भमा लिँदै गर्दा त्यसले निश्चित समयावधि हेर्न आवश्यक छ । अहिले पनि ग्वार्कोको फ्लाई ओभर हामीलाई गिज्जयाई रहेको अवस्था छ , त्यसैले राज्यले यो बेला विकास निर्माणका कुरामा इच्छा शक्ति राख्नुपर्छ । उत्तर दक्षिण मित्र राष्ट्रहरूसँगको समोन्नतिसँग लाभान्वित हुनु छ । र विकास निर्माणका ढिलाईका कुराहरूमा पनि हाम्रा कमजोरी र मित्र राष्ट्रहरूका कमजोरीहरू पनि गहन रूपमा छलफल गरेर जानुपर्ने छ ।’