‘विदेशमा रहेकालाई फर्किएर नेपाल आउनका लागि के कुराले समस्या गर्यो पहिचान गर्नुपर्छ’: मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विदेशमा रहेकालाई नेपाल फर्किन के कुराले समस्या गरिरहेको छ भन्ने कुराको पहिचान गर्नु पर्नेमा जोड दिएका छन्।
स्वास्थ्य मन्त्रालयको आयोजनामा बिहिवार देखि शुरु भएको नेपाल हेल्थ कन्क्लेभ २०२४ स्वास्थ्य सम्मेलनको उद्घाटन गर्दै मन्त्री पौडेलले नेपालमा नै जन्मिएर नेपालमा नै शिक्षा लिएकाहरूले विदेशमा राम्रो गरिरहेको भन्दै उनीहरूको अनुभवले नेपालमा स्वास्थ्य क्षेत्रमा सुधार गर्न सकिने बताए।
उनले नेपालको स्वास्थ्य क्षेत्रमा सुधार भइरहेको दाबी गरे।
दुई दिने सम्मेलनको उद्देश्य साझेदारी प्रवर्द्धन, ज्ञान आदानप्रदान र देशको स्वास्थ्य क्षेत्रका चुनौतीबारे छलफल गर्नु रहेको जनाइएको छ ।
‘नेपाल स्वास्थ्य सम्मेलन २०२४ः नेपालको स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन’ शीर्षकमा उक्त सम्मेलनको शुरु भएको हो।
मन्त्री प्रदीप पौडेलले संसारमा अरू देशले नगरेका उपलब्धिहरू स्वास्थ्य क्षेत्रमा कतिपय विषयहरू नेपालले गरिसकेको बताए ।
उनले भने ,‘स्वास्थ्य प्रणाली सुधारका निम्ति थुप्रै विषयहरू छन् । नेपालले संसारमा अरू देशले नगरेका उपलब्धिहरू कति विषयमा गरेको छ । क्रमिक रूपमा सुधारको बाटोतर्फ नेपालको स्वास्थ्य संस्था अगाडि बढिरहेको छ । तर नेपाली जनतालाई अनुभूति गर्ने गरी ,आम नेपालीलाई सेवा प्रदान गर्ने गरी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न सकिरहेका छैनौँ ।’
यसै गरी उनले नेपालमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरूको पहिचान गर्नुपर्ने बताए ।
उनले स्वास्थ्य प्रणाली सुधारका लागि थुप्रै विषयहरू भए पनि नेपाली जनतालाई अनुभूति गर्ने गरी समस्याहरूको पहिचान गर्नुपर्ने बताए ।
उनले भने, ‘स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरूको पहिचान गर्नुपर्छ । नेपाललाई स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउन के कुराले समस्या गर्यो ? बाहिर रहेका नेपालीहरू यहीँ जन्मिनु भएको हो । यही प्राथमिक शिक्षा आर्जन गर्नु भएको हो ।’
मन्त्री पौडेलले विदेशमा रहेकाले मातृभूमिलाई योगदान गर्ने कोसिस गरिहरेको पनि बताए।
‘उहाँहरूको योग्यताको आधार र उत्कृष्ट क्षमता देखाइरहनु भएको छ । आफ्नो मातृभूमिप्रति अघात प्रेम समेटेर भावनामा बोकेर नेपाललाई योगदान गर्न कोसिस गरिरहनु भएको छ । त्यस आधारमा योग्यता, क्षमता र अनुभवले नेपालको स्वास्थ्य क्षेत्र सुधार गर्नको निम्ति कसरी प्रयोग गर्न सकिन्छ ? नेपाललाई स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउन के कुराले समस्या पुर्यायो ? फर्किएर नेपाल आउनका लागि के कुराले समस्या गर्यो ? प्राप्त गरेको योग्यता र अनुभवलाई नेपालमा प्रयोग गर्न के कुराले समस्या गरायो त्यो समस्या पहिचान गर्नुपर्छ ।’