“बीआरआई सम्झौता गर्नु नै थियो भने यत्रो नाटक किन?”

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र रोड एण्ड बेल्ट इनिसिएटिभ (बीआरआई) सम्झौताप्रति कडा प्रतिक्रिया जनाएका छन्।
शनिबार चीन भ्रमण समाप्त गरी स्वदेश फर्किएका खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै, बीआरआई सम्झौतामा हस्ताक्षर गर्न नै थियो भने सरकारले छिमेकीसँग यति धेरै “नाटक” गर्नुको औचित्य प्रश्न गरे।
खनालले भने, “छिमेकी देशहरूसँग राम्रो सम्बन्ध बनाउन नसक्नेले कसरी विश्वसँग राम्रो सम्बन्ध बनाउन सक्छ? छिमेकीसँग यो प्रकारको लापरबाही गर्नु हुँदैन।”
खनालले अन्ततः बीआरआई परियोजनामा सम्झौता हुनु सुखद् पक्ष भएको उल्लेख गरे। उनले भने, “नेपाल र चीनबीचको सम्बन्धका लागि बीआरआई परियोजनामा सम्झौता हुनु राम्रो कुरा हो। यो सकारात्मक कदम भएकाले म खुसी व्यक्त गर्छु।”
तर खनालले नेपालले विगत सात वर्षसम्म बीआरआई सम्झौतामा प्रवेश नगर्नुका कारणप्रति असन्तुष्टि पनि जनाए। “संसारभरका १५३ मुलुकले बीआरआई परियोजनालाई अंगालिसकेका छन्। तर, नेपालले यति लामो समय किन ढिलाइ गर्यो?” उनले प्रश्न गरे।
खनालले बीआरआईमा नेपालको तयारी पर्याप्त नभए पनि अन्ततः सम्झौतामा हस्ताक्षर गर्नु सकारात्मक रहेको बताए। उनले भने, “जे भए पनि, सरकारले घुमाउरो बाटो भए पनि सहमति गरेको छ। यसले भविष्यमा नेपाल-चीन सम्बन्ध थप सुदृढ बनाउने विश्वास छ।”
पूर्वप्रधानमन्त्री खनालको टिप्पणीले नेपालको कूटनीतिक प्राथमिकता र छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई अझ प्रभावकारी बनाउन सरकारलाई दबाब दिने देखिन्छ।