कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी हुन्, तर फेयर प्लेको विकल्प छैन

Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले एक आपसमा मुख्य प्रतिस्पर्धी र प्रतिद्वन्द्वी हुन्। मंसिर १६ मा भएको स्थानीय तहको उप निर्वाचनले पनि त्यस्तै देखायो । अहिले सत्ता पनि दुवै दल एकै ठाउँमा आएका छन् र देश बनाउने सवालमा अब पनि यी दुई शक्ति एक ठाउँमा रहेर काम गर्नुको विकल्प छैन। २०४६ सालमा यी दुई शक्ति एक ठाउँमा नआएको भए प्रजातन्त्र आउँथ्यो?
तर आफैले ल्याएको प्रजातन्त्रलाई यिनले हुर्काउनै जानेनन्। ३० वर्षे पञ्चायत पछि पहिलो जन निर्वाचित सरकारलाई एमालेले एक सय दिन कुर्न सकेन। निजामती कर्मचारीको नाममा एमाले सडकमा आयो।
झन् २०५० साल जेठ ३ गते दास ढुङ्गा दुर्घटनामा एमाले महासचिव मदन भण्डारी र जीवराम आश्रितको निधन पछि एमालेले ताण्डव नै देखायो।
मदन-जीवरामको हत्यारा गिरिजा प्रसाद कोइराला हो। ‘हत्यारा गिरिजा हैजाले लैजा’, काठमाडौँ टोल टोलमा नारा लाग्यो। प्रहरीको गोलीबाट ठमेल-गल्कोपाखामा आफ्नै घरको झ्यालमा रहेकी एक बालिकाको निधन भयो ।
तत्कालिन गृहमन्त्री शेरबहादुर देउवाले गोलीका आँखा हुँदैन भनेर उत्ताउलो जवाफ फर्काए।
कालान्तरमा मदन भण्डारीकी विधवा विद्या भण्डारी दुई दुई पटक राष्ट्रपति भइन। एमालेबाट चार जना प्रधानमन्त्री बने। मदन भण्डारीको न हत्यारा पत्ता लगाए नत हिजो गिरिजा माथि हामीले फगत आरोप लगाएका थियौ भनेर माफी नै मागे।
देशमा अराजकता र मनपरी बोल्ने परम्परा खासमा त्यही बेला देखि शुरु भएको हो। जबकि त्यो बेला सामाजिक सञ्जाल प्रयोगमै थिएन।
यता कांग्रेसमा पनि अन्तर्घातले राम्रै स्थान पायो। मदन भण्डारीको विधवा विद्या सँग पनि कृष्ण प्रसाद भट्टराई चुनाव हारे। जबकि २०४८ सालमा काठमाडौँ क्षेत्र नम्बर १ मा मदन भण्डारी सँगै बहालवाला प्रधानमन्त्री हुँदा पनि भट्टराई हारेका थिए।
दोस्रो पटक चुनाव हार्नमा गिरिजा प्रसाद कोइराला समूहले अन्तर्घात गरेको भनियो। त्यो बेला रोपिएको अन्तर्घातको बिउ कांग्रेसीमा अहिले राम्रै झाँगिएको छ।
भट्टराई दोस्रो पटक हारे पछि देखिएको पार्टी भित्रको कलह संसदमा पुग्यो । गिरिजाले बहुमतको भारी बोक्न सकेनन्। मध्यावधि चुनाव घोषणा गरे। नेपालीको दुर्दशा त्यहीबाट शुरु भयो। प्रजातन्त्रको हुर्मत लिन थालियो।
मध्यावधिमा कसैको बहुमत आएन। एमाले ठुलो दल बन्यो, नौ महिनामा मनमोहन अधिकारीको सरकार ढल्यो। हेलिकोप्टर दुर्घटनाबाट बालबाल बचेका वृद्ध प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव र उनले अस्पतालको शय्याबाट दिएको मन्तव्य ह्दयविदारक नै थियो।
त्यस पछि पूर्व पन्च सूर्यबहादुर थापा, लोकेन्द्र बहादुर चन्दको चरणमा कांग्रेस एमाले पुगे। थापा र चन्दलाई पालै पालो प्रधानमन्त्री बनाउँदा कांग्रेस र एमालेले गौरव महसुस गरे।
शेर बहादुर देउवाले त के के गरेनन्? पुरुष सांसदलाई सुत्केरी भत्ता, संसद् किनबेच, सुरा सुन्दरी, प्राडो पजेरो के के हो के के। बदनाम बाहेक देउवालाई सम्झने ठाउँ नै राखेनन्।
अझ पछि त देउवाले गोरखाको राजाले न्याय दिन्छ भन्दै प्रजातन्त्र किस्तीमा राखेर दरबारमा बुझाएका मात्र होइनन् पार्टी नै फुटाले। कांग्रेसले दोस्रो पटक बहुमत खेर पठायो।
बहुदल आएको चार वर्ष भएको थिएन, माओवादी जङ्गल पस्यो, १७ हजारले ज्यान गुमाए। भौतिक क्षतिको त लेखाजोखा नै भएन। पूर्वाधारका बजेट गोली गट्ठा खरिदमा सकियो।
रोल्पामा माओवादी अध्यक्ष प्रचण्ड सहितको केन्द्रीय कमिटी घेराबन्दीमा परेको बेला तत्कालिन राजा वीरेन्द्रले सेना परिचालन गर्न दिएको भए, १७ हजार नेपाली मारिन्थे होलान्? उनी आफैको बंशनाश हुन्थ्यो होला?
वीरेन्द्रको बंशनाश नभएको भए त्यती सजिलै गणतन्त्रका लागि वातावरण बन्थ्यो होला? त्रिचन्द्र क्याम्पस अगाडि अब गणतन्त्रको विकल्प छैन भनेर गगन थापाले भाषण गर्दा त्यो केटो (गगन थापा) कांग्रेसलाई बदनाम गराउन दरबारले खटाएको हो भन्ने गिरिजा प्रसाद कोइराला पछि आफै गणतन्त्रको बाटोमा आउँथे?
तत्कालिन राजा ज्ञानेन्द्रले गिरिजा प्रसाद कोइरालालाई ‘पीएम जनताले तिमिलाई भ्रष्ट्राचारी भन्छन्’ भन्दा गिरिजाले सरकारलाई पनि ‘दाइको बंशनास गरेको भन्छन्’ भनेर दोहोरी नखेलेको भए गणतन्त्र आउँथ्यो?
अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बयल गाडा चढेर अमेरिका पुग्नु र नेपालमा गणतन्त्र आउनु एउटै हो’ भनेका होइनन्?
बहुदल पछिको दश वर्ष माओवादी द्वन्द्वमा खेर गयो। त्यस पछिका सात वर्ष पनि संविधान बनाउने नाममा खेर फालियो। दुई दुई पटक संविधान सभा चुनाव भयो। माओवादीले आफूले पाएको जनमतको सदुपयोग गर्न सकेन। चार चार जना कम्युनिस्ट प्रधानमन्त्रीले संविधान दिन सकेनन्।
२०७२ सालमा भुईँचालो नगएको भए यो संविधान त्यति छिटै जारी हुन्थ्यो? के कांग्रेस सभापति सुशील कोइराला बाहेक अन्य प्रधानमन्त्री भएको भए त्यो बेला संविधान जारी हुन्थ्यो?
भारतको चरम दबाब हुँदा हुँदै अत्यन्त सङ्क्रमणकालीन अवस्थामा संविधान जारी गरेर वाहवाही कमाएका सुशील कोइरालाले एमाले सँगको पूर्व सहमति अनुसार राष्ट्रपति बन्न छोडेर पुन प्रधानमन्त्रीका लागि केपी ओली सँग चुनाव नलडेको भए गणतन्त्र यो हद सम्म गिजोलिन्थ्यो?
त्यस पछि पनि नेकपाले पाएको झन्डै दुई तिहाइ बहुमतलाई केपी ओलीले जोगाउन सकेको भए, अमेरिकामा श्रीमती, प्रेमीका, तीन तीन सन्तानलाई बिचल्ली पारेर बैङ्किङ कसुरमा मुद्दा परे पछि नेपाल फर्किएको व्यक्ति सँग जनताले भरोसा गर्नु पर्ने अवस्था आउँथ्यो?
केपी ओलीले काखी नच्यापेको भए दुर्गा प्रसाईँ र रवि लामिछानेको हर्कत यो हदसम्म पुग्ने थियो? शेरबहादुर देउवाले आफ्नै पार्टीका उम्मेदवारको टिकट खोसेर पटक पटक प्रचण्डको छोरीलाई भोट हाल्न उर्दी नलगाएको भए चितवनका मतदाता यसरी बिच्कने थिए?
देउवा र ओलीले आलोपालो गरी पुष्पकमल दाहाल प्रचण्डलाई काँध नहालेको भए पार्टीका नाममा खुद्रा दुकान खुल्ने थिए?
ढिलै होस, कांग्रेस र एमाले फेरि एक ठाउँमा आएका छन्। फेरि पनि दोहोराए, यी दुई दल मिल्दा देशमा बहुदलीय प्रजातन्त्र आएको हो, यी दुई दल मिल्दा सात सात वर्ष सम्म जारी हुन नसकेको संविधान जारी भएको हो।
अझै पनि गणतन्त्रको आभास जनताले गर्न पाएका छैनन्। देश नै भ्रष्ट्राचारमा चुर्लुम्म छ। सुशासन छदै छैन।
गिरिजा प्रसाद कोइरालाले बहुमत जोगाउन नसकेर कमाएको बदनामी गणतन्त्रको आन्दोलनमा नेतृत्व गरेर पखाले।
देउवा र ओली दुवै बदनाम पात्र हुन्। गिरिजालाई जस्तै यिनलाई पनि जीवनको उत्तरार्द्धमा आफ्नो बदनामी पखाल्ने अवसर आएको छ।
कांग्रेस र एमाले एक अर्काका मुख्य प्रतिस्पर्धी हुन्। तर यिनले फेयर प्ले खेल्ने हो भने देश बन्छ। त्यसका लागि देउवा ओली सुध्रिनु पर्छ त्यो सम्भव छ?
December 2, 2024 @ 2:51 pm
सही बिष्लेषण , अब को पाटो भने को देश बनाउने नै हो भने कंग्रेस र एमाले मिल्नु नै पर्छ।