ट्रम्पसँग सशंकीत जापानका इशिबाले ‘खुलेर छलफल’गर्ने
|
Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया । जापानका प्रधानमन्त्रीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ‘खुलेर छलफल’ गर्ने बताएका छन् ।
“म आगामी राष्ट्रपति ट्रम्पसँग खुलेर छलफल गर्नेछु र गठबन्धनलाई नयाँ उचाईमा पुर्याउनेछु,” शिगेरु इशिबाले संसदमा एक महत्वपूर्ण नीतिगत सम्बोधनमा भने ।
उनले भने, “स्वाभाविक रूपमा अमेरिकाको आफ्नै राष्ट्रिय हित छ र जापानको आफ्नै राष्ट्रिय हित छ । खुलेर विचार आदानप्रदान गर्ने र दुवै देशको राष्ट्रिय हितलाई समन्वयात्मक ढङ्गले अगाडि बढाउने हो भने यसले स्वतन्त्र र खुला इन्डो–प्यासिफिकलाई साकार पार्न मद्दत गर्नेछ भन्ने मलाई लाग्छ।”
बेइजिङले ताइवानलगायत एसिया–प्रशान्त क्षेत्रका क्षेत्रीय विवादमा आक्रामक व्यवहार देखाएको छ ।
चीनले वार्षिक खर्बौं डलरको व्यापार हुने दक्षिण चीन सागरमा आफ्नो दाबी गर्दै आएको छ । टोकियो र बेइजिङबीचको सम्बन्धमा पनि ‘इस्ट चाइना सी’मा विवादित जापान–नियन्त्रित टापुहरूका बिषयमा विवाद छ ।
आणविक शक्ति सम्पन्न उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्र गतिविधि विस्तार गरेपछि पनि टोकियो चिन्तित छ । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गर्नुभएको थियो ।
इशिबाले एक राष्ट्रमाथिको आक्रमण सबैमाथिको आक्रमण भएको भन्दै एशियाली सैन्य गठबन्धनको निर्माणको लागि आह्वान गरेका छन् ।
“जापान–अमेरिका सुरक्षा गठबन्धन जापानको कूटनीति र सुरक्षाको जग हो,” इशिबाले भने ।
उनले भने, “संयुक्त राज्य अमेरिकाले जापानमा अमेरिकी सेनाद्वारा नियन्त्रित सुविधा र क्षेत्रहरूको अस्तित्वबाट ठूलो रणनीतिक लाभ प्राप्त गर्दछ।”
ट्रम्पको पहिलो कार्यकालमा जापानका तत्कालीन प्रधानमन्त्री शिन्जो आबेले अमेरिकी राष्ट्रपतिसँग न्यानो व्यक्तिगत सम्बन्ध स्थापित गरेका थिए।
यसै महिनाको सुरुमा भएको चुनावमा ट्रम्पको जितपछि इशिबा र अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पबीच जापानी ‘निकै मैत्रीपूर्ण’ टेलिफोन संवाद भएको थियो ।
प्रमुख सहयोगी जापान र संयुक्त राज्य अमेरिका एक अर्काका शीर्ष विदेशी लगानीकर्ता हुन् । झण्डै ५४ हजार अमेरिकी सैनिकहरू जापानको ओकिनावामा तैनाथ छन् ।
जापानले आफ्नो कडा शान्तिवादी अडान त्याग्दै आएको छ र ‘प्रत्याक्रमण’ क्षमता हासिल गर्न अघि बढिरहेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेन र इशिबाका पूर्ववर्ती फुमियो किशिदाले गत अप्रिलमा रक्षा क्षेत्रमा ‘नयाँ युग’ को सुरूवात भएको घोषणा गरेका थिए ।
जापानले आफ्नो सैन्य खर्चलाई कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशतको नेटो मापदण्डमा दोब्बर बनाउने प्रक्रियामा छ ।
तर ट्रम्पको ‘अमेरिका फस्र्ट’ दृष्टिकोणको अर्थ यो हुन सक्छ कि उनको दोस्रो कार्यकालमा उनले सैन्य सहयोगका लागि थप कम नगद प्रदान गर्नुहुनेछ र जापानलाई अझ बढी योगदान गर्न दबाब दिने छन् ।
ट्रम्पले सोमबार मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा २५ प्रतिशत र चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने घोषणा गरेपछि अमेरिकाका केही ठूला व्यापारिक साझेदारमा त्रास छाएको थियो ।
टोयोटा र होन्डालगायत धेरै जापानी निर्यातकहरूको मेक्सिको र क्यानाडामा प्लान्टहरू छन्। यो साता दुवै कम्पनीको शेयर मूल्यमा भारी गिरावट आएको छ ।
जापानी सरकारी अधिकारीहरूले ट्रम्पको कर धम्कीबारे टिप्पणी गर्न अस्वीकार गरेका छन् र यसबारे इशिबाले सम्बोधनमा केही उल्लेख गरेनन् ।












