व्यवसायी दुर्गा प्रसाईंको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश माग गर्दै दायर भएको रिट खारेज भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट बुधबार खारेज गरेको गरेको हो ।
साइवर अपराधको आरोपमा रहेका प्रसाईलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्न नमिल्ने भन्दै उनका छोरा निराजन प्रसाईंले सर्वोच्चमा रिट दायर गरेका थिए ।
‘फेक डकुमेन्ट’ को आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको र अफवाह फैलाएको आरोपमा उनलाई मंसिर ४ गते केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो । उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
यसअघि रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले कारण देखाउ आदेश जारी गर्दै बन्दीसहित उपस्थित गराउन आदेश जारी गरेको थियो। सोही आदेशअनुसार प्रहरीले प्रसाईंलाई अदालत उपस्थित गराएको थियो।
प्रसाईंले आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको दावी गर्दै तत्काल रिहाइको माग गर्दै अन्तरिम आदेश माग गरेका थिए। रिटमा गृह मन्त्रालय,प्रहरी प्रधान कार्यालय, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो र काठमाडौं जिल्ला अदालत ववरमहललाई विपक्षी बनाइएको छ।