व्यवसायी दुर्गा प्रसाईँलाई सर्वोच्चमा उपस्थित गराउन आदेश
काठमाडौं । सर्वोच्च अदालतले किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अदालत उपस्थित गराउन आदेश दिएको छ ।
न्यायाधीश मनोज शर्माको इजलासले बन्दीसहित उपस्थित गराउन आदेश दिएको हो । प्रसाईंका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । उनले दुर्गा प्रसाईंलाई गैरकानुनी रुपमा थुनामा राखेको दाबी गर्दै तत्काल रिहा गर्नु भनी अन्तरिम आदेशको माग गरेका थिए ।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार अर्को सुनुवाइमा बन्दीसहित उपस्थित हुन सर्वोच्चको एकल इजलासले आदेश दिएको हो । लिखित आदेश प्राप्त नभएकाले कति दिनभित्र उपस्थित गराउने बारे भन्न नसकिने पनि उनले बताए । प्रसाईंलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ पुर्याइएको छ। उनलाई १० दिन थुनामा राख्न सरकारी वकिलको कार्यालयले अनुमति माग गरेको छ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको फेक भिडियो देखाउँदै कम्बोडियाको टेलिकममा लगानी गरेको भनी प्रचार गरेपछि विद्युतीय कारोबारमा अनुसन्धानका लागि पक्राउ गरेको थियो ।














